| शनिबार, कार्तिक २८, २०८३

माघ १ गते दोस्रो धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक कागबेनी मेला हुने

पालुङटार नगरपालिका २ र सिरानचोक गाउँपालिका ४ को सीमानामा रहेको कागबेनी मन्दिरमा आउँदो माघ १ गते दोस्रो कागबेनी मेला लाग्ने भएको छ । कागबेनी मन्दिर संरक्षण तथा विकास समितिले दोस्रो कागबेनी धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक मेलाको आयोजना गर्ने समितिका अध्यक्ष रमेश पोखरेलले जानकारी दिए ।

भुसुण्डे खोला, मुङ्ग्रे खोला र चिउँखोलाको संगमस्थलमा रहेको पवित्र धार्मिकस्थल काठबेनी मन्दिरको प्रचार प्रसार गरी धार्मिक पर्यटन विकास गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको अध्यक्ष पोखरेलले जानकारी दिए ।

पालुङ्टार नगरपालिका र सिरानचोक गाउँपालिकाको साथ र सहयोगमा मेला आयोजना गरेको उनले बताए ।

आयोजकका अनुसार आउँदो पुस २९ गते साँझबाट एकसय आठ द्वीप प्रज्वलन, भजन, कीर्तन, रातभर जाग्राम बसी पूजापाठ गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै माघ १ गते बिहान सातबजेदेखि ११ बजेसम्म पञ्चैबाजाको साथमा फूलको डोली लाने, भजनकीर्तन, पूजाआजा, स्नान र पूजापाठ गर्ने, बिहान ११ बजे प्रमुख अतिथिबाट काठबेनीको नवनिर्मित भवनको समुद्घाटन, गुरुकूलका बटुकहरुबाट स्वस्तिवाचन कार्यक्रम, शुभकामना मन्तव्य तथा सहयोगीहरुलाई सम्मान कार्यक्रम रहेको उनले बताए ।

स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुद्वारा लोकगीत, लोकबाजाको प्रस्तुति र साँझ कार्यक्रम समापन गर्ने कार्यक्रम रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्