
फोहोर बालेर ताप्नु स्वास्थ्यका लागि हानिकारक
गोरखा नगरपालिका भित्रका स्थानीयले नकुहिने फोहोर अधिकांश जलाउने र आगो ताप्नमा प्रयोग गर्ने गरेको पाइएको छ । नगरपालिकाले केही समयअघि गरेको अध्ययनअनुसार गोरखा बजारक्षेत्रभित्र निस्कने फोहोर मध्ये करिब २५ प्रतिशत फोहोर जलाएर आगो ताप्ने गरेको भेटिएको हो ।
गोरखा नगरपालिका क्षेत्रभित्र निस्कने फोहोरमध्ये करिब १२ प्रतिशत नाला, खोल्सामा फाल्ने गरेको, पाँच प्रतिशत पुन प्रयोग गर्ने गरेको र ३४ प्रतिशत कम्पोष्ट मल बनाउनमा प्रयोग गर्ने गरेको भेटिएको गोरखा नगरपालिकाका बतावरण तथा सरसफाई शाखा अधिकृत धु्रब घिमिरेले बताए ।
‘ट्याक्टरमा फोहोर फाल्ने क्रम बढेको छ, तर जाडोको समयमा आगो ताप्ने गरी फोहोर बाल्ने प्रवृत्ति पनि घटेको छैन ।’ कुहिने फोहरलाई मल बनाउनुको साँटो अन्य फोहरमा मिसाएर ट्याक्टरमा फाल्ने क्रम पनि नरोकिएको उनले बताए ।
जाडोको समयमा प्लास्टिक पोल्ने प्रवृत्ति झनै धेरै छ । त्यसैलाई आगोको रुपमा ताप्दा त्यहाँबाट निस्कने धुँवाले स्वास प्रस्वास, घाँटीमा समस्या आउन सक्ने स्वास्थ्यकर्मी बताउँछन् ।
डाक्टरका अनुसार प्लास्टिकको धुवाँबाट मानिसको स्वास्थ्यमा संक्रमण छिटो हुन सक्छ । गोरखा अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले भने ‘प्लास्टिक बाल्दा कार्बनमनोअक्साईड निस्कन्छ, त्यसले स्वास फेर्न असजिलो बनाउँछ । फोक्सोलाई काम गर्न अवरोध गर्छ ।’ धुवाँ शरीरमा जाने र प्लास्टिकमा प्रयोग भएका केमिकलले पनि स्वास्थ्यमा असर पुग्ने उनले बताए । ‘खोकी लाग्ने, छात्ती दुख्ने र क्यान्सरसम्म हुन सक्छ ।’
बालवालिका र वृद्धवृद्धालाई प्लास्टिकको धुवाँ अझै धेरै खतरनाक हुन्छ । हामीले देख्ने गरी कुनै पनि समस्या तत्काल नआएपनि दीर्घकालीन रुपमा भने अन्य रोगको संक्रमण बढ्ने खतरा हुने चिकित्सकहरु बताउँछन् । नगरपालिकाले सबै टोल सुधार समितिसँग सहकार्य गरेर फोहोर ब्यवस्थापन गर्ने योजना बनाए पनि पूर्ण रुपमा ब्यवस्थापन हुन सकेको छैन । अहिले पनि फोहोर ब्यवस्थापन गर्न नगरपालिकाले मुख्य बजार क्षेत्रका केही टोल सुधार समितिसँग सरसफाई शुल्क लिने गरेको छ । तर सबै टोल सुधार समितिले सरसफाई शुल्क तिरेका छैनन् ।




