| शनिबार, कार्तिक २८, २०८३

‘हुदै नभएको जनशक्ति र हुदै नभएको ठाउँमा कसरी अस्पताल चलाउने ?’

अश्विन दानी  : जनशक्ति र ठाउँको अभावका कारण गोरखा अस्पतालको उपचार सेवा प्रभावित भएको छ । अभावै अभावमा नाममात्रको सेवा दिनुपरेको निमित्त मेडिकल सुपरिटेण्डेण्ट नवीन थापा बताउँछन् । चिकित्सक कर्मचारी र उपचार गर्ने ठाउँको अभावका कारण पाँच जना भन्दा धेरै बिरामी एकैचोटी आएमा उपचार गर्न नसकिने मेसु थापा बताउँछन् ।

बिगत लामो समयदेखि करारका डाक्टर तथा कर्मचारीको भरमा अस्पताल चलिरहेको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिए । ५९ दरबन्दी रहेको अस्पतालमा मेडिकल सुपरिटेण्डेण्ट लगायत ३८ वटा दरबन्दी खालि रहेको अस्पतालले जनाएको छ ।
‘सरुवा भएर जानेहरु जान हतार गर्नुहुन्छ, तर आउनुपर्नेहरु आउनुहुन्न’, ढकालले भने, ‘त्यसैले अहिले अस्पतालमा दरबन्दीको भन्दा करारका चिकित्सक कर्मचारी धेरै हुनुहुन्छ ।’

जिल्ला अस्पताल गोरखामा बिभिन्न ३१ वटा पदमा कुल ५९ जना कर्मचारीको दरबन्दी स्वीकृत छ । तर, अस्पतालमा अहिले १६ जना मात्रै स्वीकृत दरबन्दीका कर्मचारी कार्यरत छन् । ‘अस्पतालमा ५९ जना कर्मचारीको स्वीकृत दरबन्दी भएपनि हाल १६ जना मात्रै दरबन्दीका कर्मचारी कार्यरत छन्’, ढकालले भने, ‘दरबन्दी अनुसारका कर्मचारी नहुँदा अस्पतालले प्रदान गर्ने सेवा प्रभावित पक्कै पनि हुन्छ । तर, हामीले यसअघिदेखि दिदै आएको सेवालाई रोकेका छैनौं ।’

जिल्ला अस्पतालको तथ्याङ्क अनुसार हाल अस्पतालमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आएका छात्रबृत्ति करारका नौ जना चिकित्सक कार्यरत छन् । कार्यक्रम करारका नौ जना, ब्यबस्थापन समितिबाट करारमा नियुक्त २२ जना र नेपाल सरकार करारमा ७ जना गरी ४७ जना चिकित्सक कर्मचारी करारमा छन् । खरदार, मुखिया, लेखापाल सबैको काम आफूहरुले नै गर्नुपरेको निमित्त मेसु थापा बताउँछन् ।

‘एउटा नासुको बैशाखमा यहाँ पोष्टिङ भएको थियो तर यहाँ हाजिरै नभै प्रदेश मन्त्रालयले मन्त्रालयमै काजमा लग्यो’, मेसु थापाले भने, ‘यो पुसमा काज सकियो । तर न मान्छे आउँछन्, न कुनै ब्यहोराको कागज आउँछ । मन्त्रीज्यूलाई सिधै फोन गरेर समस्या राखेँ । ल, म बुझ्छु भन्नुहुन्थ्यो । एकमहिना बितिसक्यो, अहिलेसम्म केही जानकारी आएको छैन । यस्तो हालतमा अस्पताल छ ।

’ जनशक्ति अभाव हुँदाहुँदै पनि प्रदेश मन्त्रालयले भएका कर्मचारीलाई पनि तालिममा पठाइदिने, काजमा पठाइदिने गरेको भन्दै उनले चिन्ता ब्यक्त गरे । ‘जनशक्ति छैन, यस्तो खालको तालिमको अहिले खाँचो पनि छैन भन्दा भन्दै पनि मन्त्रालयले तालिममा पठाइदिन्छ, काजमा पठाइदिन्छ’, मेसु थापा भन्छन्, ‘जनशक्ति नै छैन, कसरी ड्युटी खटाउने ? २४ घण्टा खटिरहेका छौं । यदि हामीमध्य पनि कोही बिरामी भैदिए, कसरी चलाउने अस्पताल ?’ भवन अभावका कारण निवासबाट सेवा दिइरहनु परेको उनको गुनासो छ ।

‘बजारको अस्पतालमा उपचार गर्ने भनेर गाउँदेखिका बिरामी आउनुहुन्छ, तर हामीले क्वाटरबाट सेवा दिइरहेका छौं’, उनले भने, ‘इमर्जेन्सीमा ल्याएर माटो थुपार्दिएको छ । यसो नगर भन्यो भने ठेकेदारको मान्छे, हामीले भनेको मान्दैन । इण्डोर लायन्स क्लवको भवनमा चलेको छ । हुदै नभएको जनशक्ति र हुदै नभएको ठाउँबाट बिरामीलाई कसरी गुणस्तरीय सेवा दिन सकिन्छ ?’

अस्पतालमा दरबन्दी अनुसारका कर्मचारी नहुँदा औषधी खरिदमा समेत समस्या भएको सूचना अधिकारी ढकालले बताए । ‘दरबन्दी अनुसारका कर्मचारी नहुँदा करारको कर्मचारीले काम गर्नुपर्ने हुन्छ । तर, करारका कर्मचारी सबैले अख्तियारी प्राप्त गरेका हुँदैन्’, उनले भने, ‘त्यसैले अस्पतालमा अत्यावश्यक औषधी खरिद प्रक्रियामा समस्या भइरहेका छ ।’

प्रतिक्रिया दिनुहोस्