
गोरखामा धुमधामले मनाइयो ल्होसार (फोटो फिचरसहित)
आशिष भट्ट : गुरुङ समुदायको महानपर्व तमु ल्होसार मंगलबार देशभर भव्य रुपमा मनाइएको छ । मृगवर्गलाई बिदाइ गरी मुसा वर्गलाई स्वागत गर्दै मंगलबार गुरुङ समुदायले गोरखाको बिभिन्न स्थानमा पनि ‘तमु ल्होसार’ धूमधामसाथ मनाएका हुन् ।

हरमटारीस्थित खेलकुद मैदान रंगशाला, अजीरकोट २ अपुन, गोरखा नगरपालिका १३ अँबुवा, धार्चे ४ लाप्राक र आरुघाटमा विशेष कार्यक्रम गरिएको थियो । कार्यक्रममा उपस्थित गुरुङ समुदाय मौलिक पोशाकमा सजिएर विभिन्न झाँकीसहित ¥याली प्रस्तुत गरेका थिए । युवाहरु पनि सेल्फीमा रमाउँदै थिए ।

महिलाहरु शिरबन्दी, मखमली चोली, घलेक, पटुकी, छिटको गुन्यू र मजेत्रो लगाएर सजिएका थिए भने पुरुषहरूले टोपी, भोटोमाथि भाङग्रो लगाई कछाड र पटुकी बाँधी बजागाजासहित गोरखा सदरमुकाम परिक्रमा गरेका थिए ।
जिल्लाको बिभिन्न ठाउँमा भएको कार्यक्रममा घाटु, मारुनी, सोरठी, कौरा लगायतको झाँकी प्रदर्शन गरिएको तमु ह्यूला छोंज धीं गुरुङ राष्टिूय परिषद् गोरखाका सचिव दुर्गा गुरुङले जानकारी दिए ।

गुरुङ भाषामा ‘ल्हो’ भनेको वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘ल्होसार’ भनिन्छ ।
तमु संस्कृति अनुसार पुस १५ गते खुसीसाथ सामूहिक भोज, वनभोज, सांस्कृतिक कार्यक्रम एवं नाचगान गरेर यो पर्व मनाइन्छ । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित हुन्छ । सोमबार मध्यरातमा गुरुङसमुदायले मृग बर्गको विदाई गरे च्यू ल्हो अर्थात मुसा बर्गको स्वागत गरेका हुन् ।

परापूर्वकालमा गुरुङ समुदायले वर्षलाई गन्न १२ जनावरको नामबाट नयाँ वर्षको नामाकरण गरेका हुन् । मुसापछि गाई, बाघ, बिरालो, सुगा, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र मृग गरी १२ जनावरका नामबाट वर्षको नामाकरण गरिएको हुन्छ ।

हरमटारी खेलमैदानमा गोरखा नगर तमु ह्यूला छोंज धीं गुरुङ परिषद्का अध्यक्ष दिनेश गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा, प्रमुख अतिथि तमु ह्यूला छोंज धीं गुरुङ परिषद्का केन्द्रिय उपमहासचिव राजु गुरुङ गोरखाका जिल्ला अध्यक्ष रामबहादुर गुरुङ, मिना गुरुङ, बिष्णु गुरुङ, तेजबहादुर गुरुङ, टेकबहादुर गुरुङ, कृष्ण गुरुङ लगायतले मन्तव्य राखेका थिए । त्यस्तै अपुनमा भएको कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशका सांसद प्रकाशचन्द्र दवाडी लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए । तनहुँ, लमजुङ लगायत जिल्लाका बिभिन्न ठाउँमा कार्यक्रम भएको थियो ।






