
गोरखाको जिल्ला प्रहरी कार्यालय सिलान्यास, बोर्लाङ चौकी उद्घाटन
भूकम्पले जीर्ण बनेको जिल्ला प्रहरी कार्यालय गोरखाको कार्यालय भवन तथा ब्यारेक निर्माण हुने भएको छ । भवन निर्माणको प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी बिनोद शर्मा घिमिरेले सिलान्यास गरेका छन् ।
निर्माण हुने प्रहरी कार्यालय भवन, मेश भवन, कार्यालय प्रमुखको निवास भवन, हिरासत कक्ष र ब्यारेक भवनको सिलान्यास गरिएको जिल्ला प्रहरी प्रमुख एसपी ओम अधिकारीले जानकारी दिए ।
सबै भवन गरेर आठ करोड एकलाख रुपैयाँमा निर्माण गर्न रोयल कन्स्टूक्शनले ठेक्का सम्झौता गरेको छ । निर्माण कम्पनीले एकबर्षभित्र निर्माण सम्पन्न गर्ने गरी गत पुसको चार गते ठेक्का सम्झौता गरेको हो ।
त्यसैगरी भीमसेन थापा गाउँपालिका वडा नम्बर ८ बोर्लाङमा नवनिर्मित प्रहरी चौकी पनि आइतबार नै उद्घाटन गरिएको छ । प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी बिनोद शर्मा घिमिरेले नयाँ भवन उद्घाटन गरेका हुन् । कुल एक करोड ४३ लाख रुपैँया लागतमा निर्माण सम्पन्न भएको सो चौकी भवनको आईतबार एक कार्यक्रम गरी डिआईजी घिमिरेले उद्घाटन गरेका हुन् ।
२०४९ सालमा स्थापना भएको प्रहरी चौकीका प्रहरीहरु २०७२ सालको भुकम्पमा चौकी भत्किएपछि त्रिपालभित्रबाटै सेवा प्रदान हुने गरेको थियो । राष्टिूय पुनर्निर्माण कोषबाट २०७४ बैशाख ६ गते सम्झौता भएर क्रिस्टल जेभी निर्माण कम्पनीले कार्यालय, शौचालय, हिरासत र मेच भवन निर्माण गरे.को ।
गाउँपालिकाका अध्यक्ष ईश्वर पाण्डेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशका प्रहरी प्रमुख डिआइजी घिमिरे, साहायक प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल, एसपी ओमप्रसाद अधिकारी, गाउँपालिकाकी उपाध्यक्ष बिनु वाग्ले, वडा अध्यक्ष बासु थापा, पत्रकार महासंघ गोरखाका सचिव नरहरी सापकोटा लगायतले मन्तव्य राखेका थिए ।
‘राम्रो घरमा बसेर मात्रै राम्रो सेवा हुँदैन । तर, राम्रो घरले पनि प्रहरीको मनोवल उच्च बनाएर शान्ति सुरक्षा कायम गर्न गदत गर्छ’ एसपी अधिकारीले भने, ‘गोरखामा शान्ति सुरक्षा कायम गर्नका लागि प्रहरी सक्रिय भएर लाग्ने छौँ ।’
जग्गा अभावले गोरखाका दुई वटा प्रहरी चौकी पुननिर्माण हुन नसकेको बताउँदै डिआईजी घिमिरेले जग्गा प्राप्त भएमा चालु आर्थिक बर्ष भित्रै भवन निर्माणको सुरुवात गर्ने बताए । ‘आफुलाई सुधार्न सजिलो हुन्छ त्यसैले आफुबाट सुरु गयौँ भने हामी सबै सुध्रिन्छौँ’, डिआईजी घिमीरेले भने, ‘जनताले नै दिएको जग्गामा सरकारले घर बनाई दिएको हुनाले प्रहरी चौकी स्थानीयकै सम्पती हो । स्थानीय र प्रहरी मिलेर शान्ति सुरक्षा कायम राख्नलाई मदत गर्न पर्छ । ’ प्रहरीले अन्याय, अत्याचार र भ्रष्टूचारलाई कहिल्यै स्वीकार नगर्ने घिमिरेले बताए । उद्घाटन कायक्रम प्रहरी निरिक्षक कमला नरालले सञ्चालन गरेकी थिईन् ।
कार्यक्रममा बोर्लाङ प्रहरी चौकीका ईन्चार्ज कमल जिपी र निर्माण ब्यबसायी भोला मरट्टालाई चौकी पुननिर्माणमा सहयोग गरेको भन्दै प्रमाण पत्र बितरण गरिएको थियो ।
भवन निर्माणको प्रतिवेदन प्रहरीका प्राबिधिक निरञ्जन कुमार सिंहले पेस गरेका थिए ।




