| शनिबार, कार्तिक २८, २०८३

बिकासमा अदूरदर्शिता : पुलजीपलाई बीच पारेर सडक निर्माण

 

‘पुल बनेको दुई वर्ष भयो, सडक खन्दा पुल झण्डै पहिरोसँगै बग्ने अवस्था थियो’ गण्डकी गाउँ पालिका ६ थुम्काका स्थानीय बासु चेपाङले भने ‘पहिले पुल बन्यो, त्यसपछि पुलको जिपमाथि सडक खनियो ।’ पुल २०७४ सालमा संघिय मामिला तथा स्थानीय बिकास मन्त्रालयको स्थानीय पूर्वाधार कार्यक्रम अन्र्तगत सस्पेन्सन ब्रिज डिभिजन मार्फत निर्माण भएको हो ।

तुइन बिस्थापित गरी निर्माण भएको गण्डकी गाउँपालिका ६ र बेनिघाट रोराङ गाउँपालिका १० जोड्ने त्रिशुली नदी माथिको झोलुङ्गेपुल जोखिममा परेको छ । पुलको गोरखा तर्फ खनिएको कच्ची सडकले पुल अड्याइएको जिप र स्ल्यावमा समेत क्षती पुगेको हो । अधिकारी निर्माण सेवाले ६६ लाखमा एक सय १३ मिटर लामो उक्त झोलुङ्गे पुल निर्माण गरेको थियो । सिउरेनीटार, कौदीखोला देखि फिस्लिङ जोड्ने पुल भएर खनिएको सडकमा सहज सवारी चल्दैन ।

एक करोड ५० लाख खर्चेर खनिएको सडक अझै पुरा भएको छैन । पुलदेखि गाउँपालिकाको केन्द्र जोड्ने योजना सहित अर्को सडक खनिएको छ । गाउँपालिका को १५ लाख लगानीमा उक्त सडक खनिएको हो । सो सडक भएर पैदल हिड्न पनि गाह्रो भएको हिक्लुङकी सर्मिला चेपाङले बताइन् । ‘सडक खनेपछि सजिलो हुन्छ, गाडी चल्छ भन्ने सोचेका थियौँ’ उनले भनिन्, ‘अहिले पैदल हिड्दा समेत खुट्टा अडिदैन ।’ पैदल बाटो र पुल सडकका कारण जोखिममा परेको गुनासो स्थानीयको छ । भिरालो जमिन भएका कारण सडक खन्न सहज छैन । एक्साभेटरले ट्र¥याक खोल्दा पहिरोले पुलको गोरखातर्फ जिप पुरेको थियो ।

पुल खोतल्दा थप क्षति पुगेको स्थानीय बताउँछन् । सडक खन्दा झरेको ढुङ्गा र माटोका कारण दुई वर्ष अघि बनेको पुल क्षतिग्रस्त छ । तुईन बिस्थापन गर्ने सरकारी योजना अनुसार त्रिशुली नदीमाथि झोलुङ्गे पुल हालिएको थियो । पुल भएपछि गोरखा तर्फका चेपाङ बाहुल्यता रहेको हिक्लुङ, थुम्का लगायत ठाउँका स्थानीय लाई राजमार्ग सम्म आउन, तरकारी बिक्री गर्न र कामकाजमा समेत सहज भएको थियो ।

पुल पनि आवस्यक रहेको र सडक को ट्र¥याक खन्ने बिकल्प पनि नरहेका कारण समस्या भएको गण्डकी गाउँपालिका ६ का अध्यक्ष जिवन गुरुङ बताउँछन् ।

‘बजेट अभावमा सडक राम्रो बन्न नसकेको हो’ उनले भने ‘गाउँ पालिका को केन्द्र जोड्ने सडक र पुल दुबै उतिकै आवस्यक छ, हामी पुल जोगाएर सडक निर्माण गर्ने योजनामा छौँ ।’

प्रतिक्रिया दिनुहोस्