| शनिबार, कार्तिक २८, २०८३

गाउँपालिकाको केन्द्र विवाद : अजीरकोटको टुंगियो, सिरानचोकको टुंगिदै, गण्डकीको यथावत

गाउँपालिकाको केन्द्रको निर्धारण हुन बाँकी तीन गाउँपालिकामध्य अजीरकोटको टुंगो लागेको छ । भच्चेक बजारनजिकै अजीरकोट भन्ने ठाउँमा केन्द्र रहने गरी टुंगो लागेको गाउँपालिकाका प्रमुख फणिन्द्र धितालले जानकारी दिए ।

गाउँपालिकाको कार्यालय तथा अन्य विषयगत कार्यालय निर्माण गर्न सो ठाउँका बासिन्दाले ११.५ रोपनी जग्गा निशुल्क उपलब्ध गराएका अध्यक्ष धितालले जानकारी दिए । ‘स्थानीय पाँचजनाले साँढे ११ रोपनी जग्गा निशुल्क दिइ सकेका छन् । र त्यसको स्वामित्व विधिवत रुपमा गाउँपालिकाको नाममा प्राप्त भइसक्यो’, उनले भने, ‘अब डिपिआर बनेपछि बाँकी पाँच रोपनी पनि प्राप्त हुदैछ । अब तत्काल डिपिआर तयार गरी टेण्डर गरेर कार्यालय भवन निर्माण प्रक्रिया सुरु भइहाल्छ ।’ विभिन्न प्राविधिक र अप्राविधिक भवनहरु भने मान्द्रे सामुदायिक वनले उपलब्ध गराउने जग्गामा निर्माण गर्ने योजना रहेको उनले सुनाए ।

भवन निर्माणका लागि स्थानीय देवराज गुरुङ, आइतकौरी गुरुङ, चौधबहादुर गुरुङ, खड्गबहादुर गुरुङ र मीनबहादुर गुरुङले जग्गा उपलब्ध गराएका वडा नं. ३ का अध्यक्ष तयराज गुरुङले जानकारी दिए । डिपिआर तयार भएपछि उनीहरु पाँचै जनाले थप पाँच रोपनी जग्गा उपलब्ध गराउने प्रतिवद्धता जनाएका गुरुङले बताएका छन् ।

यसअघि अजीरकोट, मान्द्रे सामुदायिक वनको जग्गा तथा नम्कीमा कार्यालय भवन निर्माण गर्ने बारे मत बिभाजन भएको थियो । ‘गाउँपालिकाको भवनका लागि जग्गा प्राप्त भयो । अव वडा कार्यालय, शिक्षा, कृषि, पशुसेवा, प्राविधिक कार्यालय तथा सेमिनार हल, संग्रहालयका लागि जग्गा अपुग छ’, अध्यक्ष धितालले भने ‘त्यसका लागि मान्द्रे सामुदायिक वनसंग पनि हामीले जग्गा माग गरेका छौं । त्यहाँ जग्गा प्राप्त हुनासाथ बाँकी कार्यालयहरु त्यहीँ निर्माण हुनेछन् । त्यहाँ जग्गा प्राप्त नभए नम्कीका स्थानीयबासीले पनि जग्गा दिन तयार छन् । त्यहाँ निर्माण हुनेछ ।’

यसअघि अजीरकोट, मान्द्रे सामुदायिक वन तथा नम्कीमध्य कहाँ गाउँपालिकाको कार्यालय निर्माण गर्ने भन्ने विवाद हुँदा लामो समयदेखि अर्काको घर भाडामा लिएर कार्यालय सञ्चालन गर्नुपरेको थियो ।

जग्गा विवाद टुंगो लागेपछि भवन निर्माणका लागि रकम संकलन गर्न गाउँपालिका जुटेको छ । ‘केही रकम जुटिसकेको र केही जुट्ने क्रममा रहेको छ’, अध्यक्ष धितालले भने, ‘प्रदेश सरकारबाट एक करोड रुपैयाँ प्राप्त भइसकेको छ’, धितालले भने, ‘जिल्ला समन्वय समितिबाट एक करोड १५ लाख प्राप्त भएको छ । गाउँपालिकाले ६० लाख विनियोजन गरेको छ ।’ बाँकी रकम जुटाउनका लागि कार्यालय लागिपरेको उनले बताए ।

केन्द्र टुंगो लाग्न बाँकी सिरानचोक गाउँपालिकाको केन्द्रको बारेमा राजनीतिक समझदारी जुटेको छ । सिरानचोक गाउ ँपालिका को वडा नं. ५ चित्रे पोखरीमा केन्द्र रहने गरी टुंगोमा पुगिसकेको तर निर्णय लिपिवद्ध गर्न मात्र बाँकी रहेको गाउँपालिकाका अध्यक्ष राजु गुरुङले बताए ।

काङ्ग्रेसबाट बिजयी जनप्रतिनिधि बीच मतैक्य नहुँदा यसअघि केन्द्र निर्धारण गर्न समस्या भएको थियो । ‘विवाद समाधान गर्न काङ्ग्रेसका जिल्ला सभापति हरिबहादुर घले, राजन राज पन्त र नन्दप्रसाद न्यौपाने रहेको समिति बनाएर बार्ता गरी सहमतिको अन्तिम चरणमा पुगिएको छ’, अध्यक्ष गुरुङले भने । सो ठाउँमा गाउँपालिकाको भवन तथा अन्य भवन निर्माणका लागि ३० रोपनी जग्गा पनि जुटिसकेको अध्यक्ष गुरुङले बताए । ‘स्थानीयबासीबाट ३० रोपनी जग्गा पनि जुटिसकेको छ’, अध्यक्ष गुरुङले भने, ‘निर्णय भएपछि जग्गा पास गरेर भवन निर्माणमा लाग्ने तयारी गरेका छौं ।’

गण्डकी गाउँपालिका को केन्द्र सम्बन्धी बिबाद भने यथावत छ । यस बारेमा कुनै पनि प्रक्रिया अघि नबढेको गाउँपालिका का अध्यक्ष होमबहादुर रानाले जानकारी दिए । गाउँ पालिकाको केन्द्र निर्धारण नहुँदा गाउँ कार्यपालिकाको कार्यालय भवन निर्माण गर्न जिल्ला समन्वय समितिले बिनियोजन गरेको एक करोड १५ लाख रुपैयाँ फ्रिज भइरहेको जिल्ला समन्वय समितिले जनाएको छ । अजीरकोट, सिरानचोक र गण्डकी गाउँपालिका बाहेक सबै गाउँ तथा नगरपालिकाको केन्द्र निश्चित भएर पनि कतिपयको भवन निर्माण भइसकेका छन् भने कतिपयको निर्माणको चरणमा छन् ।

प्रतिक्रिया दिनुहोस्