
पर्यटन मन्त्री भट्टराईद्वारा भिमसेन थापाको शालिक अनावरण
संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेशकुमार भट्टराईले गोरखा नगरपालिका ४ स्थित पिपलथोकमा गोरखा नगरपालिकाले निर्माण गरेको भिमसेन थापको शालिक शनिवार अनावरण गरेका छन् । करिब २२ लाख रुपैयाँमा तयार गरिएको पाँच फिट अग्लो भिमसेन थापाको पूर्ण कदको शालिक शनिवार आयोजित एक कार्यक्रमका बिच मन्त्री भट्टराईले अनावरण गरेका हुन् ।
अनावरण पछि आयोजित सभालाई संवोधन गर्दै उनले भने ‘भिमसेन पार्कलाई अझै बिस्तार गर्ने योजना गोरखा नगरपालिकाको छ भने मेयर साव् प्रस्ताव लिएर आउनुहोस् पर्यटन मन्त्रालयले सहयोग गर्नेछ ।’ पर्यटकलाई आकर्षण गर्न शालिक, पार्क निर्माणमा नगरपालिकाको योजना प्रशसनिय भएको भन्दै त्यस्ता काममा बजेट खर्च गर्नु उपलब्धीमुलक हुने उनले बताए ।
भिमसेन थापा नेपालका प्रथम प्रधानमन्त्री र राष्ट्रिय विभुती समेत रहेकाले गोरखा आएर शालिक अनावरण गर्न पाउँदा खुसी लागेको मन्त्री भट्टराईले अनुभव सुनाए । गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तले भ्रमण वर्षमा गोरखा नगरपालिकाले ‘गोरखा जऔँ’ भन्ने अभियान संचालन गर्ने घोषणा गरे ।
गोरखा जाऔँ अभियानका क्रममा गोरखामा हजारौँ आन्तरीक र बाह्य पर्यटक भित्र्याउन सकिने उनले बताए । कार्यक्रममा सांसद हरिराज अधिकारी, जिल्ला समन्वय प्रमुख अशोक कुमार गुरुङ, प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछाने, गोरखा नगरपालिका उपप्रमुख बिनाकुमारी श्रेष्ठ, वडा नम्बर ४ का अध्यक्ष खोपबहादुर अधिकारी लगायतले धारणा राखेका थिए । सोही अवसरमा नगरपालिकाले भिमसेन पार्क निर्माण स्थलका जग्गादाता मकरबहादुर गुरुङ र कान्छी गुरुङलाई कदरपत्र र दोसल्लाले सम्मान गरेको थियो ।




