
गोरखाको बारपाक सुलिकोट र आरुघाट जोड्ने झोलुङ्गे पुल अलपत्र
गतवर्ष निर्माण सम्पन्न भइसक्नुपर्ने गोरखाको बारपाक सुलिकोट गाउँपालिका ७ र आरुघाट गाउँपालिका ७ जोड्ने झोलुङ्गे पुल अहिले सम्म पुरा भएको छैन ।
निर्माण कम्पनी, प्राविधिक सहयोग गर्ने संस्थाको हेलचेक्राईले पुलमा प्रयोग हुने सामग्री आधा भन्दाबढि बाटोमै अलपत्र छ ।
एस् के इन्जिनियरिङ बुटवलले निर्माणको ठेक्का लिएको उक्त पुलमा प्राविधिक सहयोग हिमाली क्षेत्र बिकास केन्द्रले गर्दै आएको छ । आर्थिक वर्ष २०७५ को अन्त्यमा बर्खाको कारण देखाउँदै निर्माण कम्पनीले काम गरेन । ‘पुलमा प्रयोग हुने नटबल्ट, स्ल्याब आधा निर्माण स्थलमा पुगेको छ भने केही पाँचखुवा देउराली नजिकै छ’ बारपाक सुलिकोट गाउँपालिका का इन्जिनियर सुजन अम्गाईले भने । उक्त पुलमा उपभोक्ताले श्रमदान गर्ने, सामग्री खरिदमा पालिकाले सघाउने गरी काम सुरु भएको हो । अहिले ल्याइएको पुलको नटबल्ट पहिले भएको काठे फल्याकमा मिल्ने गरी आएकाले जडान गर्न नमिलेका इन्जिनियर अम्गाईले बताए । ‘काम सुरु गर्न लाग्दा अहिले ‘साईज’ मिलेन, फेरि मगाएका छौँ, केही समयमा सुरु हुन्छ’ उनले भने ।
स्तुल खोला माथिको उक्त झोलुङ्गे पुल भएर साविकको आरुपोखरी गाविस, आरुआर्वाङ, स्वाँरा र पाँचखुवा देउराली, पन्द्रुङ, घ्याम्पेशालका स्थानीय आउजाउ गर्छन् । २०५४÷५५ मा काठको फल्याक बिछ्याएर त्यहाँ पुल निर्माण भएको थियो । फल्याक झर्ने, टाँगिएको तार मक्किएर च्यातिएपछि जोखिम बढेको स्थानीय राजु अधिकारीले बताए । ‘गत वर्ष पुरा हुनुपर्ने पुलको आधा भन्दा बढि सामग्री बिच बाटोमै अलपत्र देखिन्छ’ उनले भने ‘अहिले बालवालिका हिड्दा खोलामा खस्ने डर हुन्छ ।’
फल्याक झरेपछि नयाँ ल्याइएको फलामे स्ल्याब स्थानीयले आफैँ अड्याए का छन् । नटबल्टु नकसेका कारण जोखिम भने फलामे स्ल्याबमा पनि उतिकै छ । पुल चिप्लिने, गाईबस्तु हिँडाउन समस्या हुने भएपछि स्थानीयले सामाजिक सञ्जालमा छिटो काम लगाउन गाउँपालिका र जनप्रतिनिधीलाई दबाव दिएका छन् । स्तुलखोला माथि रहेका ९५ मिटर लामो उक्त झोलुङ्गे पुल बाहेक अन्य सबै फलामे स्ल्याबका छन् । दैनिक पाँच सय जनाभन्दा बढि मानिस उक्त पुल भएर आउजाउ गर्ने स्थानीय बताउँछन् ।
झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमका सामाजिक संयोजक रामबाबु ढकालले भुलबस फरक सामग्री पर्न गएकाले काम ढिला भएको बताए । ‘गत वर्ष काम समयमै सकिएन, यस वर्ष काम हुन लागेको थियो, सामग्री फरक प¥यो, एक दुई दिनमा नयाँ सामग्री आउँछ र काम चल्छ ।’




