| शनिबार, कार्तिक २८, २०८३

उत्तरी गोरखामा हिमपात तल्लो भेगमा वर्षात

शुक्रवार दिनभर गोरखा सदरमुकाम लगायत आसपासका क्षेत्रमा वर्षात भएको छ ।

पश्चिम बायुको प्रभावका कारण देशभर मौसममा बदली भएको पूर्वानुमान महा शाखाले जनाएको छ । मौसममा वदलीभएसँगै उत्तरी गोरखामा शुक्रवार दिनभर हिमपात भएको छ । चुमनुब्री गाउँपालिकाको सामागाउँ, छेकम्परा लगायत अधिकासं ठाउँमा हिमपात भएको स्थानीयलाई उदृत गर्दै गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले बताए ।

वडा नम्बर १, २, ६ र ७ नम्बर वडामा हिमपात भएको खबर स्थानीयले गाउँपालिकामा गरेका छन् । ‘अघिल्लो वर्ष पुस महिनामा परेको थियो, अहिले मंसिरमै प¥यो ।’ हिमपातपछि उत्तरी गोरखाबाट गुम्बा पढ्ने विद्यार्थी बेसी झर्छन भने स्थानीय पनि अत्याधिक चिसोका कारण राजधानी काठमाण्डौँ धेरै झर्छन ।

फागुन लागेपछि फेरि फर्कने गर्छन । चिसो अत्याधिक हुने हुँदा पुस र माघ महिना घर कुर्ने बाहेकका मानिस भेट्न मुस्किल पर्छ ।
गोरखामा बिहिवार देखि नै चिसो अत्याधिक बढेको थियो । शुक्रवार बिहानै देखि हिमपातका कारण टेलिफोन टावरले काम नगर्दा नियमित फोन सेवा समेत अवरुद्ध भएको छ । सर्वसाधारणको दैनिक जिवन यापन प्रभावित बनेको थियो । घरभित्रै आगो फुकेर बस्ने, गोठ जान, बस्तुभाउ चरन लैजान स्थानीयले सकेका छैनन् । धार्चे गाउँपालिकाको लाप्राकमा पनि हिउँ परेको छ । चिसो अत्याधिक भएपछि गुप्सिपाखामा एनआरएनले निर्माण गर्दै गरेको नुमना बस्तीको काम प्रभावित बन्यो भने मणिकामदेवि माध्यामिक विद्यालय को पढाई समेत प्रभावित बनेको वडा अध्यक्ष राज गुरुङले बताए । तल्लो भेगमा शुक्रवार दिनभर वर्षात भएको छ ।

गोरखा सदरमुकाम, पालुङटार, आरुघाट, भच्चेक लगायतका बजार क्षेत्रमा सर्वसाधारणको चहलपहल अन्य दिन भन्दा कम्ती देखिएको छ। सवारी साधन पनि अन्य दिनको तुलनामा कम गुडेका थिए । बाक्लो लुगा लगाउने, तातो भएर बस्न, भोलीलो खानेकुरा खान गोरखा अस्पतालका डाक्टर बिनोद दुवाडीले सर्वसाधारणलाई सुझाब दिएका छन् । बालवालिका र वृद्धवृद्धालाई चिसोबाट बचाउन ध्यान दिनुपर्ने बताउँदै उनले भने ‘यस्तो समयमा रोगको संक्रमण छिटो हुन सक्छ ।’

प्रतिक्रिया दिनुहोस्