
गोरखाका शहीद शिक्षकका परिबारहरुलाई अभिनन्दन
तत्कालीन जनयुद्धरत माओवादीले हत्या गरेका गोरखाका शिक्षकहरुको परिबारलाई शनिबार गोरखामा अभिनन्दन गरिएको छ । नेपाली काङ्ग्रेसको शिक्षा शाखाले आयोजना गरेको कार्यक्रममा सात जना शहीद शिक्षकका परिबारलाई प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा राष्टिूय सभाका प्रमुख प्रतिपक्षी दलका नेता सुरेन्द्रराज पाण्डेले दोसल्ला ओढाएर अभिनन्दन गरेका हुन् ।
कार्यक्रममा माओवादीबाट मारिएका छोप्राकका शिक्षक पदम हमालका छोरा दीपक हमाल, त्यस्तै शिक्षकहरु गिरीराज पोखरेलकी श्रीमती विष्णुमाया पोखरेल, विष्णु दवाडीकी छोरी यशोदा दवाडी, शिव अधिकारीको छोरी स्वस्तिका अधिकारी, नन्दलाल कोइरालाकी श्रीमती जनककुमारी कोइराला, नरबहादुर देवकोटाकी श्रीमती होमकुमारी देवकोटा र शिक्षक शिव भट्टका छोरा हरि भट्टलाई अभिनन्दन गरिएको शिक्षा शाखाका संयोजक तथा काङ्ग्रेसका जिल्ला उपसभापति सुकदेव दवाडीले जानकारी दिए ।
संयोजक दवाडीको अध्यक्षतामा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले एमाले र माओवादी विसर्जनवादतिर गएको टिप्पणी गरे । दुईतिहाइको दुहाइ दिदै अहिलेको सरकारले संविधान प्रदत्त अधिकार धमाधम खोसिरहेको भन्दै उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, कर्मचारीलाई दिइएको अधिकार आदि कुण्ठित गरेको तर्क गरे । नेकपाको सरकार अधिनायकवाद तर्फ उन्मुख रहेको भन्दै यसले प्रजातन्त्र खतरामा परेको बताएका थिए । निर्वाचनमा जाँदा जनताले गरेको अपेक्षा यो सरकारले गुमाइरहेको उनको तर्क थियो । कमिशनको खेलमा मेलम्ची, बूढीगण्डकी, निजगढ बिमानस्थल को काम अलपत्र पारेको नेता पाण्डेले दाबी गरेका थिए ।
कांग्रेसको शिक्षा शाखाको आयोजना तथा शिक्षक संघको सिरानचोक, अजीरकोट र बारपाक सुलीकोट गाउँपालिका स्तरीय शिक्षक संघको सहआयोजनामा भएको कार्यक्रममा पार्टी सभापति हरिबहादुर घले, गण्डकी प्रदेश सांसद प्रकाशचन्द्र दवाडी, गोरखा नगरपालिका प्रमुख राजनराज पन्त, शिक्षक संघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष एमपी भुषाल, शिक्षक महासंघका महासचिव लक्ष्मी किशोर सुवेदी, गण्डकी प्रदेशका शिक्षक संघका अध्यक्ष शिरोमणि लामिछानेले मन्तव्य ब्यक्त गरेका थिए ।
त्यस्तै, शिक्षक संघका जिल्ला अध्यक्ष लुमनाथ लामिछाने, सिरानचोक गाउँपालिकाका अध्यक्ष राजु गुरुङ, अजीरकोट गाउँपालिकाका अध्यक्ष फणिन्द्र धिताल, शिक्षक संघका सिरानचोक गाउँपालिकाका अध्यक्ष रामकाजी श्रेष्ठ, अजीरकोट गाउँपालिकाका अध्यक्ष कालिका प्रसाद अधिकारी, बारपाक सुलीकोटका गाउँपालिकाका अध्यक्ष उमाकान्त ढकाल, पार्टीका महासमिति सदस्य मोहन पोखरेल, पूर्व जिविस सभापति चन्द्रप्रसाद न्यौपाने, शहीद शिक्षकका पुत्र तथा वडा अध्यक्ष दीपक हमालले मन्तव्य राखेका थिए ।




