| शनिबार, कार्तिक २८, २०८३

बूढीगण्डकी डुबानमा पर्ने गोरखाको आरुघाट र धादिङको विशालनगर तथा खहरे बजार क्षेत्रको मुआव्जा तोकियो

 

बूढीगण्डकी डुबानमा पर्ने गोरखाको आरुघाट र धादिङको विशालनगर तथा खहरे बजार क्षेत्रको मुआव्जा निर्धारण भएको छ । दुवै जिल्लाको मुआव्जा निर्धारण समितिको आइतबार रातीको संयुक्त बैठकले दुवै जिल्लाको एकहजार सातसय ६४ रोपनी जग्गाको मुआव्जा आइतबार राती निर्धारण गरेको हो ।

गोरखाको आरुघाट क्षेत्रको पाँचसय ३७ र आर्खेत क्षेत्रको ७२ रोपनी जग्गाको मुआव्जा निर्धारण गरिएको समितिले जनाएको छ । धादिङको खहरे क्षेत्रको दुईसय ४५ र आरुघाट विशालनगरको नौ सय १० रोपनी जग्गाको मुआब्जा निर्धारण गरिएको वातावरण, मुआव्जा वितरण, पुनर्वास तथा पुनस्थापना इकाइ कार्यालयले जनाएको छ ।

आर्खेत बजार क्षेत्रको मुआव्जा आनाको न्यूनत्तम ५० हजारदेखि आरुघाट क्षेत्रको जग्गाको अधिकत्तम सातलाख रुपैयाँसम्म निर्धारण गरिएको निर्धारण समितिका एक सदस्यले जानकारी दिए । आरुघाट बजारक्षेत्रको जग्गालाई नौ भागमा र आर्खेत बजार क्षेत्रलाई दुई भागमा बर्गीकरण गरी मुआव्जा निर्धारण गरिएको उनले बताए ।
मुख्य सडकमार्गमा पर्ने, सहायक सडकमार्गमा पर्ने, शाखा बाटोले छोएको, शाखा बाटो र मोटरबाटोले नछोएकोलगायतका पक्षलाई आधार मानेर मुआब्जा तोकिएको स्रोतले जनाएको छ ।
मुआव्जा लिनका लागि अब आवेदन माग गरी प्रक्रिया अघि बढाइने निर्धारण समितिले जनाएको छ ।

यससंगै १२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजनाको डुबानमा पर्ने जग्गाको मुआव्जा निर्धारण कार्य सकिएको छ । गोरखाका साबिक १४ गाविस र धादिङका साबिक १३ गाविस गरी २७ गाविसको डुबान प्रभावितको मुआव्जा निर्धारण सम्पन्न भइसकेको बूढीगण्डकी आयोजना मुआव्जा वितरण, पुनर्वास तथा पुनस्थापना एकाइले जनाएको छ ।

आइतबार राती निर्धारण भएका बजार क्षेत्रबाहेक ४४ हजार छ सय ५८ रोपनी जग्गाको मुआव्जा २०७३ सालको मंसीर महिनामा नै निर्धारण भएर वितरण भइसकेको थियो । यसअघि २६ अर्ब ८४ करोड ४६ लाख ४९ हजार रुपैयाँ मुआब्जा वितरण भइसकेको इकाइ कार्यालयले जनाएको छ ।
चालु आर्थिक वर्षमा सरकारले बुढीगण्डकी आयोजनाका लागि १४ अर्ब ६० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
घरगोठ, बोटबिरुवाको मुआव्जा भने निर्धारण गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्