| शनिबार, कार्तिक २८, २०८३

दरौदी करिडोर धानजोन स्वीकृति प्राप्त, गोरखामा सुन्तला जोन, धानजोन, मकै विशेष कार्यक्रम सञ्चालन गर्ने

 

धान खेती राम्रो हुने क्षेत्रहरु समेटेर गोरखामा धान जोन परियोजना लागु हुने भएको छ । बिभिन्न नगरपालिका र गाउँपालिकाका १७ वटा वडाका फाँटहरु समेटेर धान जोन परियोजना सञ्चालनका लागि आइतबार स्वीकृति पत्र प्राप्त भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत सुन्तला जोन परियोजना कार्यालयका प्रमुख अजय अधिकारीले जानकारी दिए ।

‘धान जोन कार्यक्रम सञ्चालन गर्न भदौ महिनामै प्रक्रिया अघि बढाएका थियौं’, अधिकारीले भने, ‘मन्त्रालयबाट मङ्सीर १० गते लेखिएको त्यसको जवाफ आइबार प्राप्त भएको छ ।’ अब गोरखा नगरपालिकाको वडा नं. ३, ५, १०, ११, १२, १३ र १४ का फाँटहरु, पालुङ्टार नगरपालिका वडा नं. १ र ९, शहीद लखन गाउँपालिकाको वडा नं. १ र ३, सिरानचोक गाउँपालिकाको वडा नं. ४, ५, ६, ७ र ८ र अजीरकोट गाउँपालिकाको वडा नं. ५ का फाँटहरु धानजोनभित्र समेटिएको उनले बताए ।

१७ वटा वडाका करिब सातसय हेक्टर क्षेत्रफल धानजोनभित्र रहेका अधिकारीले बताए । ती वडामा रहेका धान किसानहरुको संख्या बारे ऐकिन गर्न यही हप्ताभित्र प्रक्रिया सुरु गर्ने अधिकारीले बताए । ‘धान जोन परियोजनामा समेटिनका लागि यो हप्ताभित्र हामी आवेदन माग गर्छौं’, उनले भने, ‘धान जोन कार्यक्रम सञ्चालनका लागि पहिलो बर्ष एक करोड ३० लाख ६७ हजार रुपैयाँ बजेट प्राप्त भएको छ ।’ सो रकमले किसानका लागि साना सिँचाई, मेसिनरी औजार वितरण, सोलार प्रविधिको पानी तान्ने मेसिन, प्रशोधन उद्योग, मिलहरु वितरण गर्ने कार्यालयले जनाएको छ ।

साथै धानको सुधारिएको ब्याड(नर्सरी) सञ्चालन गर्ने, विरुवा उपचार गर्ने, बिभिन्न तालिम सञ्चालन, भ्रमण गरेर किसानलाई सशक्तिकरण गर्ने उनले बताए ।

त्यस्तै सिरानचोक गाउँपालिकालाई समेटेर मकै विशेष कार्यक्रम लागु गरिने पनि उनले बताए । यसअघि गोरखा नगरपालिकाका वडा नं. १, २, ३, ४ र १४ नंबर वडा, शहीद लखन गाउँपालिकाका केही वडा, गण्डकी गाउँपालिकाका केही वडा, भीमसेन थापा गाउँपालिकाका केही वडा र पालुङ्टार नगरपालिकाको वडा नं. ९ र १० का बगैँचाहरु समेटेर सुन्तला जोन कार्यक्रम सञ्चालन गरिएको थियो ।

सुन्तला जोन, धान जोन कार्यक्रम र मकै विशेष कार्यक्रम समेटेर प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, गोरखा कार्यालय स्थापना गर्ने तयारी गरिएको सुन्तला जोन परियोजना कार्यालयका प्रमुख अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्