
युवा संघको गोरखा जिल्ला संयोजक चयनप्रति युवाहरु बेखुशी
नेपाल कम्युनिष्ट पार्टी नेकपाको युवा संगठन राष्टिूय युवा संघको गोरखा जिल्ला नेतृत्व चयनप्रति युवाहरुले असन्तुष्टि जनाएका छन् । हालै पार्टी केन्द्रबाट संघको संयोजक पदमा अशोक शर्मा भट्टको चयनप्रति लामो समयदेखि पार्टीको युवा संगठनमा क्रियाशील युवाहरुले असन्तुष्टि जनाएका हुन् ।
पार्टी परिवर्तन गरी परिबार दलमा प्रवेश गरेको र आम निर्वाचनमा पार्टीका केन्द्रीय अध्यक्ष प्रचण्डसित चुनाबमा भिडेकालाई संयोजक बनाइएको भन्दै युवाहरु असन्तुष्ट देखिएको साबिक वाइसिएलका संयोजक सुरेन लामिछानेले जानकारी दिए । ‘युवाहरु सन्तुष्ट छैनन्’, उनले भने, ‘पार्टी परिवर्तन गरी परिबार दलको युवा संगठनको केन्द्रीय अध्यक्ष बनेका र आम चुनावमा काठमाडौं १० मा केन्द्रीय अध्यक्ष प्रचण्डसितै चुनाव भिडेकालाई युवा संघको संयोजक बनाइएको भन्दै युवाहरुले बिरोध गरेका छन् ।’ युवाहरुले भट्टको चयनको बिरोधमा सामाजिक सञ्चालमा छरपस्ट लेखेर बिरोध जनाएको उनले बताए ।
करिब तीनबर्ष एमाओवादीमा रहेर काम गरेका अशोक शर्मा भट्ट शान्ति प्रक्रिया सुरु भएपछि तत्कालीन एमाओवादी परित्याग गरी नेपाल परिबार दलमा प्रवेश गरेका थिए ।
पार्टीमा निरन्तर काम गरिरहेकालाई पाखा लगाएर अवसरवादीलाई अवसर दिइएको युवाहरुको तर्क छ । ‘पार्टीमा निरन्तर लडिरहेका, होलटाइम, पार्टटाइम खटिरहनेहरुको संख्या धेरै छ तर अवसर खोज्दै पार्टीलाई धोका दिएर भागेकाहरुलाई नै अवसर दिइएको छ’, नवीन घलेले भने, ‘साँच्चै भन्ने हो भने, उहाँको पार्टी प्रवेश पनि भएको थिएन ।
युवा संघको संयोजक चयन भइसकेपछि पनि उहाँको बारेमा परिबार दलले विज्ञप्ति पनि निकालेको थियो । कि हाम्रो जिल्लामा युवा संघको संयोजक बन्ने हैसियत भएका युवाहरु थिएनन् भन्नु पर्यो । दाबेदार एकसेएक युवालाई पन्छ्याएर बाहिरका युवालाई चयन गरियो ।’ यसबारेमा आफूहरुले पार्टी नेतृत्वमा असन्तुष्टि राखिरहेको घलेले बताए ।
पार्टी नेतृत्वले यस बिषयमा पुनर्विचार गर्ने आश्वासन दिएको घलेको भनाइ छ । ‘हामीले पार्टीका जिल्ला इञ्चार्ज, जिल्ला अध्यक्ष, सचिव र युवा संघका केन्द्रीय संयोजकसम्म पनि असन्तुष्टि ब्यक्त गरेका छौं’, घलेले भने, ‘यस बारेमा सबै युवाहरुसंग बसेर पुन छलफल गरौंला भनेर आश्वासन दिनुभएको छ । हेरौं अब के हुन्छ ।’ पार्टीको विचार, सिद्धान्त, आदर्श, निर्देशन सबै पालना गरिरहेकाले यो चयन प्रक्रिया पनि स्वीकार गर्नुको बिकल्प भने नभएको उनले बताए ।
युवा संघको जिल्ला संयोजक पदका लागि साबिक वाइसिएलका संयोजक सुरेन लामिछाने, साबिक माओवादीका नवीन घले, सूर्य गुरुङ र साविक एमालेका सुमन श्रेष्ठको पनि आशा, अपेक्षा रहेको स्रोतले बताएको छ ।
नेकपाका जिल्ला इञ्चार्ज कृष्ण धिताल, विजयले भने युवा संघको ७७ वटै जिल्ला संयोजक केन्द्रबाट तोकिएकाले यसलाई स्वीकार गर्नुको विकल्प नरहेको बताएका छन् । पार्टी केन्द्रले सबै जाँचबुझ गरी चयन गरेको दाबी गर्दै अर्को परिस्थिति नआएसम्म पुनर्विचारको सम्भावना पनि नरहेको इञ्चार्ज धितालले जनाए ।




