
पालुङटारदेखि घ्याच्चोकसम्म ४० किमि स्तरीय सडक बन्दै
सडक बिभाग अन्र्तगत यस वर्ष गोरखामा एउटा मात्रै नयाँ योजना कार्यन्वयनका लागि आएको एघार किलो छवेटार भालुस्वाँरा बारपाक सडक आयोजनाले जनाएको छ ।
उक्त योजना गोरखा क्षेत्र नम्बर २ को पालुङटार, सिरानचोक र अजिरकोट गाउँपालिकालाई जोड्ने महत्वपूर्ण योजना रहेको आयोजना प्रमुख रविन्द्रलाल दासले बताए ।
पालुङटार देखि घ्याच्चोक जोड्ने गरी ४० किलोमिटर लामो स्तरीय ग्रामिण सडक निर्माण हुनेछ । ‘यो वर्ष सात करोड रुपैयाँ छुट्याइएको छ’ आयोजना प्रमुख दासले भने ‘बिभागले सबै प्रतिवेदन यहाँ पठाएपछि हामीले निर्माण थाल्नेछौँ ।’ टेण्डर आह्वान गरेर चालु वर्ष बिनियोजन भएको बजेटको काम सिध्याउने योजना रहेको उनले बताए । ‘पालुङटार, हर्मी, छोप्राक, गाँखु, श्रीनाथकोट, जौवारी ४, मुच्चोक सिचुंग, घ्याच्चोक सडक’को डिपिआर तयारको काम भईरहेको छ । बिभागले डिपिआर र बतावरणिय प्रभाव मूल्याङ्कन गरेपछि उक्त सडक निर्माण सुरु हुनेछ । निर्माणको काम भने गोरखा स्थित आयोजना कार्यालयले सुरु गर्ने जनाएको छ ।
उक्त सडक निर्माण भएपछि ग्रामिण बजारको उत्पादन सदरमुकाम र पोखरा, चितवन लगायतका ठाउँमा लैजान सहज हुने अजिरकोट गाउँपालिकाका उपाध्यक्ष चन्द्रा गुरुङले बताईन । बर्खाको बेला ग्रामिण सडकमा अहिले पनि सवारी साधन नचल्दा सर्वसाधारणले दुःख पाएको बताउँदै उनले स्तरीय सडक बनाउनुपर्नेमा जोड दिईन ।
‘बजेटको सहित सदुपयोग गरेर छिटो टेण्डर गरी काम समयमै भयो भने जनताले सुविधा पाउने थिए’ उनले भनिन् ‘समय भित्र काम नहुने प्रवृत्तीले निराश बनाएको छ ।’




