
अभाव, असुविधा र गरिबीले थिचेको न्याक गाउँ
शिव उप्रेती :
सहरको सरकार सहरकै लागि हवाइजहाज, पानीजहाज, रेलमार्ग, सुरुङमार्ग, ग्याँसको पाइपलाइन, पेटूोलियम पदार्थको पाइपलाइनको योजना बनाउँछ ।
सुविधासम्पन्न अस्पताल, युग सुहाउँदो विद्यालय, विश्व विद्यालय को कार्यक्रम सञ्चालन गर्छ । सहरका नेताहरु संवृद्धिको भाषण गरेर थाक्दैनन् । यही देशमा एउटा गाउँ छ, जसलाई पुस्तौँदेखि अभाव, असुविधा र गरिबीले थिचिरहेको छ ।
गोरखाको हिमालपारि रहेको त्यो गाउँको नाम हो न्याक । यो चुमनुब्री गाउँपालिका वडा नं. ३ मा पर्छ । सडक धेरै परको कुरा, यहाँसम्म पुग्न सिँडी लगाइएको पदमार्ग पनि छैन । बूढीगण्डकी माथिको ठाडो भीरमा करिब एक फिट चौडा बाटो छ । यहाँ पुग्न गाउँपालिका को केन्द्रबाट चारघण्टा मानवबस्ती बिहिन उकालो चढ्नुपर्छ ।
यति लामो उकालो चढ्ने न्याकबासीलाई घाँटी भिजाउन बाटोमा खानेपानीको सुविधा छैन ।
कहालीलाग्दो उकालो चढ्दा यहाँका बासिन्दालाई अर्को त्रासदी छ, बेलाबेला झरिरहने ढुङ्गाको । भीरमा चर्ने मृग, घोरल, झारल, नाउरले बेलाबेला ढुङ्गा झारिरहन्छन् । माथिबाट झरेको एउटा ढुंगाले बाटोसम्म आइपुग्दा पहिरोकै रुप लिन्छ । यसबाट बच्न यहाँका बासिन्दा तलमाथि हेर्दै हिड्नु पर्ने अबस्था छ ।
गाउँमा पुगेपछि भित्तामा पसारो परेका ४४ घरधुरी गुरुङ समुदाय को मात्र बसोबास देख्न सकिन्छ । गाउँलेले मोटरबाटोको कल्पना गरेका छैनन् ।
अघिल्लो बर्षदेखि गह्रुङ्गो भारी बोक्न गाउँमा खच्चड आइपुगेको छ । खच्चड चल्न थालेपछि गाउँलेको थाप्लोले केही सुख महशुस गर्न थालेको छ । ‘हाम्रो गाउँको मान्छेले गाडी चढ्ने सपना देखेका छैनन्’, गुरुङ भन्छन्, ‘पोहोरदेखि खच्चड चल्न थालेको छ । यसैमा खुशी छौं । अब डब्लुएफपी ले सिँडी बनाइदिन्छु भनेको छ । त्यही आशा छ ।’
सिजनमा लटरम्मै फल्ने स्याउले गाउँलेलाई अलिअलि पैसाको मुख देखाउँछ । कि त रक्सी बेचेपछि धेरथोर पैसा हात पर्छ । सिजनका बेला स्याउ र अरु बेला गाउँलेहरु रक्सी, मकै, गहुँ, बोकेर त्यही कठिन ओरालो बाटो मनास्लु पदमार्गमा पर्ने न्याकफेदी, ड्याङ, पेवा, पाङ्सिङ र फिलिमसम्म पुग्छन् ।
‘स्याउ पाक्ने बेलामा पिठोसँग साँट्न पाङसिङसम्म पुग्छौं’, दिपेश भन्छन्, ‘बेच्नुप¥यो भने डोको बोकेर मनास्लु जाने बाटोमा पर्ने न्याकफेदी, पेवा, ड्याङ, फिलिमसम्म पुग्छौं ।’
विकास बिमुख :
विद्युत प्राधिकरणका सिइओ कुलमान घिसिङले लोडसेडिङमुक्त बनाएर भनेर देशमा झ्याली पिटिएको छ तर न्याक गाउँमा विजुलीबत्ती छैन । केन्द्रीय प्रशारण त धेरै पर, लघुजलविद्युतको विजुली पनि गाउँमा छैन । पाँच घण्टाको बाटो पर भालुवनमा उत्पादन गरिएको लघुजलविद्युत ४५ घरधुरीका लागि लाइन तान्न कोही मान्दैनन् ।
भूकम्पपछि पुगेको एउटा संस्थाले प्रत्येक घरलाई सोलार बत्ती बाँडेको थियो । ती पनि कतिपय बिग्रिसके । सोलार बत्ती बिग्रिएका स्थानीयबासी अहिले अँगेनुँमा बलेको आगोको उज्यालोको भरमा बस्ने गर्छन् । ‘सोलार त छ तर कसैकसैको घरमा बिग्रिसक्यो । उनीहरु अँगेनुँको आगोको उज्यालोको भरमा छन्’, स्थानीय वीरेन्द्रराज गुरुङले भने ‘कहिलेकहीँ दुईदिन, तीनदिन, एकहप्तासम्म घाम नलागेको बेला सोलार भए पनि दियालो बाल्छौँ ।’
गाउँमा एउटा विद्यालय छ, वुद्धहिमाली प्राबि । कक्षा तीनसम्म सञ्चालन अनुमति पाएको त्यहाँ कक्षा १ मा चार जना छन् । दुई र तीन कक्षामा विद्यार्थी छैनन् । शिक्षक पनि छैनन् । ‘एकजना सर थिए । पोहोर साउनमा राजिनामा दिए । फागुनसम्म खालि भयो । सरकारले फागुनमा एकजना मिस पठायो तर स्कूल आएका छैनन्’, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत गुरुङ भन्छन्, ‘तलब कसरी खाएका छन् कुन्नि ? चेकमा मेरो सही गर्न आएका छैनन् । नक्कली सही गरेको पो छ कि ?’
पढ्नका लागि यहाँका बालबालिका गाउँ छोड्न बाध्य छन् । आवासीय सुविधासहित पढाइ हुने छिमेकी वडाका विद्यालयमा बालबालिका पढ्न पठाउनु परेको गाउँलेको गुनासो छ । ‘पढ्नका लागि कोही गप, कोही फिलिम, कोही साम्दो, कोही स्याला, कोही काठमाडौं गएका छन्’, सुनिता गुरुङ भन्छिन्, ‘गाउँको स्कूलमा पढाइ हुने भए सानासाना बालबालिका पनि किन आमाको काख छोड्नु पथ्र्यो ?’
सूचना सञ्चारका लागि गाउँमा मोबाइल सेवा छैन । ‘हाम्रो गाउँमा मोबाइल पनि टिप्दैन’, दिपेश गुरुङ भन्छन्, ‘तलका मान्छेले मोबाइल खेलाएको देखेर हाम्रो गाउँका युवाहरुले पनि मोबाइल किनेका छन् । तर गेम खेल्न, फोटो खिच्न, गीत सुन्न, भिडियो हेर्न र बत्ती बाल्न प्रयोग गर्छन् ।’ फोन गर्नुप¥यो भने गाउँभन्दा माथिको डाँडामा उक्लिनु पर्ने उनले बताए । ‘अरुले हामीलाई फोन गर्यो भने टिप्दैन । हामीले गर्नुप¥यो भनेचाहिँ डाँडामा गएर गर्ने गरेका छौँ’, उनले भने, ‘मोबाइल नचलेपछि इन्टरनेट सेवा चल्ने कुरै भएन ।’ अहिलेको विश्वको सामाजिक सञ्चाल तथा अनलाइनले न्याक गाउँमा प्रवेश पाएको छैन ।
देश विदेशमा के भइरहेको छ भन्ने गाउँलेलाई अत्तोपत्तो हुदैन । कोही दैनिक बारीको काममा ब्यस्त हुन्छन् । कोही गोठ र खर्कमा पशुचौपायासंग भुलिरहेका हुन्छन् । फेरबदल भइरहने राजनीतिक परिवर्तनसंग गाउँलेलाई सरोकार छैन ।
इन्टरनेटबाट बिमुख न्याक गाउँमा रेडियो पनि टिप्दैन । ‘कुनै पनि रेडियो स्टेशन टिप्दैन । टिभी छैन । पत्रपत्रिका आउने त कुरै भएन’, स्थानीय पासाङ गुरुङ भन्छन्, ‘देश विदेशमा के भइरहेको छ भन्ने मतलब छैन । खेतीबाली कसरी गर्ने भन्ने मात्र थाहा छ ।’ वैदेशिक रोजगारीमा जाने मान्छे समेत गाउँमा एकजना मात्र रहेको उनले बताए ।
घरब्यबहारको कामको चापका कारण विदेश जान नपाएको उनले बताए । ‘घरमा काम गर्दिने मान्छे नभएर हाम्रो गाउँका युवाहरु विदेश जान पनि पाउँदैनन् । कोही पनि छैन भनुँभने जम्मा एकजना मात्र छ’, उनले भने ।

गाउँमा सरकारी स्वास्थ्य चौकी पनि छैन । नीजि मेडिकल पनि छैन । धामीझाँक्रीचाहिँ छन् । न्याक गाउँको गाउँपालिकाको कार्यालय फिलिममा छ । वडा कार्यालय पनि त्यहीँ छ । स्वास्थ्यचौकी पनि त्यहीँ छ । न्याकबाट त्यहाँ पुग्न सञ्चो मान्छेलाई चार घण्टा लाग्छ । ‘सानोतिनो बिरामी भयो भने यति धेरै हिडेर औषधी उपचार गर्न जाँदैनन्’, दिपेश गुरुङ भन्छन्, ‘धामीझाँक्रीले झारफुक गर्छन् । जडिबुटीकै भर पर्छन् ।’ गाउँका धेरैजनामा टिबी, ग्यास्टिूक, हेपाटाइटिस पनि रहेको उनले बताए ।
बिहेबारीको रोचक परम्परा :
न्याक गाउँमा बिहेबारीको चाहिँ राम्रो परम्परा छ । यहाँ एकफेर बिहेबारी गरेर सम्बन्ध जोडिसकेपछि कहिल्यै सम्बन्ध बिच्छेद हुदैन । न त कसैले दोस्रो बिहे नै गर्छन ।
‘हाम्रो गाउँमा आजसम्म कसैको पनि दोस्रो बिहे भएको छैन’, स्थानीय पासाङ गुरुङ भन्छन्, ‘एकचोटी बिहे गरिसकेपछि कहिल्यै छोडपत्र पनि हुदैन । कोही श्रीमान श्रीमतीको झैझगडा भएर दस, पन्द्र बर्ष श्रीमती माइत बसे, नथाकीकन पर्खेर फेरि संगै बस्ने चलन छ ।’ एकल महिला वा एकल पुरुषले पनि दोस्रो बिहे नगर्ने चलन रहेको उनले बताए । सानो उमेरमा बिहे गर्नु हुदैन भनेर सरकारले पछि प्रचार प्रसार गरेको हो । त्यो भन्दा धेरै पहिलेदेखि न्याक गाउँमा ठूलो भएपछि मात्र बिहे गर्ने परम्परा चलेको थियो । ‘सरकारले त आजभोलि मात्र सानो उमेरमा बिहे गर्नु हुदैन भनेको हो । हाम्रो गाउँमा त झन बाउबाजेको पालादेखि नै सानो उमेरमा बिहे गर्ने चलन छैन’, स्थानीय जोनिशा गुरुङ भन्छिन्, ‘प्रेम बिबाह गर्ने चलन पनि हाम्रो गाउँमा छैन । मागी बिबाह मात्र गर्ने चलन छ ।’
मागी बिबाह गरेपछि केही समय श्रीमान श्रीमती संगै नबस्ने चलन रहेको अर्का स्थानीय दीपेश गुरुङ बताउँछन् । ‘बिबाह गरेपछि श्रीमतीको माइती घरको घरब्यबहार मिलाएपछि मात्र श्रीमानको घरमा जाने चलन छ’, उनी भन्छन्, ‘ठेकी पोम राखेपछि पनि श्रीमान, श्रीमती मिलेर आफ्नो घरको, माइती घरको ब्यबहारिक अबस्था ठिकठाक पार्छन् अनि बल्ल श्रीमानको घरमा गएर संगसंगै बस्ने चलन छ ।’




