| शनिबार, कार्तिक २८, २०८३

विश्वभरका भारतीय दूतावासमा धर्ना दिइरहेका छौं : एनआरएनए अध्यक्ष पन्त

गैरआवासीय नेपालीहरुले विश्वभर रहेका भारतीय दूतावास तथा कुटनीतिक निकायमा धर्ना दिने गरेको गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले जनाएको छन् । गृहजिल्ला गोरखाका पत्रकारहरुसंगको भेटमा अध्यक्ष पन्तले भारतले हालै सार्वजनिक गरेको नक्साबाट लिम्पियाधुरा (कालापानी, लिपुलेक)लाई हटाउनु पर्ने र कालापानी र लिपुलेकमा रहेका भारतीय सेना हट्नु पर्ने माग गर्दै धर्ना बस्ने गरेको उनले बताए ।

‘एनआरएनका राष्ट्रिय परिषदहरुलाई परिचालन गरेर हामीले विश्वभर रहेका भारतका दूतावास तथा कुटनीतिक निकायका कार्यालयहरुमा धर्ना दिने गरेका छौं’, उनले भने, ‘भारतले नेपाललाई यसरी अन्याय गरिरहेको छ भनेर विश्वभर जानकारी गराउन हामी विदेशमा रहेका नेपालीहरुले प्रचार प्रसार गर्ने तथा भारतलाई आफ्नो हस्ताक्षेपकारी नीतिबाट पछि हट्न नैतिक दबाब सिर्जना गरिरहेका छौं ।’ नेपालमा रहेका नेपाली र नेपाल सरकार मात्र होइन, विश्वभर छरिएका ८० लाख नेपालीहरु राष्ट्रियताप्रति संवेदनशील छौं र राष्ट्र र राष्ट्रियता हाम्रोलागि त्यतिकै प्यारो छ भन्ने हामीले प्रदर्शन गरिरहेका छौं ।

‘नेपाल र नेपालीको राष्ट्रियताको सवालमा विश्वभर छरिएर रहेका नेपालीहरु जुनसुकै मूल्य चुकाउन तयार छौं’, अध्यक्ष पन्तले भने, ‘हामीले गरेको गतिबिधिप्रति परराष्ट्र मन्त्रीजी असाध्यै खुशी हुनुहुन्छ ।’ नेपालमा चलिआएको नक्शा त्रुटीपूर्ण भएकाले यसलाई नेपाल सरकारले सच्याउनु पर्ने र परिवर्तित नक्शा भारत सरकारले स्वीकार गर्नुपर्ने आफूहरुको माग रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्