
बूढीगण्डकी डुबान पीडितलाई मुआव्जा माग्दै पूर्वप्रधानमन्त्री भट्टराईसहित जनप्रतिनिधि धर्नामा
बूढीगण्डकी आयोजनाबाट डुबानमा पर्ने गोरखाको आरुघाट बजार, धादिङको विशालनगर, खहरे बजारका पीडितलाई यथासीघ्र उचित मुआव्जाको माग गर्दै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसहित जनप्रतिनिधि धर्ना बसेका छन् । डुबान पीडित क्षेत्रका जनप्रतिनिधिहरुको आन्दोलनको पहिलो दिन जिल्ला प्रशासन कार्यालय गोरखामा धर्ना कार्यक्रम आयोजना गरिएको हो ।
राष्ट्रिय सभाका प्रतिपक्षी दलका नेता सुरेन्द्रराज पाण्डे नेतृत्वको पहिलो दिनको आन्दोलनलाई समर्थन गर्दै गोरखा २ बाट निर्वाचति सांसद समेत रहेका भट्टराई धर्नामा सहभागी भएका हुन् ।
जनप्रतिनिधिहरुको धर्ना कार्यक्रममा प्रतिपक्षी दलका नेता पाण्डे, गोरखाबाट निर्वाचित प्रदेश सांसद प्रकासचन्द्र दवाडी, धादिङका सांसदहरु, आरुघाट गाउँपालिकाका अध्यक्ष पूर्ण दाहाल, उपाध्यक्ष कल्पना नेपाली, धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका प्रमुख शम्भुकुमार थापा, उपाध्यक्ष देवी पाण्डे बुर्लाकोटी, सरोकार समितिका संयोजकहरु जगनाथ खनाल र दिनेश ढकाल, आरुघाट गाउँपालिका ९ का अध्यक्ष डिलबहादुर रोका, १० अध्यक्ष मेनबहादुर अधिकारी, ८ का अध्यक्ष मुरारी खनाल, त्रिपुरासुन्दरी गाउँपालिका २ का अध्यक्ष कृष्ण खत्री, ५ का अध्यक्ष कृष्ण काप्री, ७ का अध्यक्ष देवराज धरेल, गण्डकी गाउँपालिका ८ का अध्यक्ष रामप्रसाद रेग्मी लगायतको सहभागिता रहेको छ ।
यसअघि सम्पन्न पीडित क्षेत्रका स्थानीयबासीको भेलाले मंसिर ५ गते जिल्ला प्रशासन कार्यालय गोरखामा धर्ना दिने, ६ गते जिल्ला प्रशासन कार्यालय धादिङमा धर्नाको कार्यक्रम तय भएको संघर्ष समितिका अध्यक्ष जगनाथ खनालले बताए । ८ गतेसम्म उचित मुआब्जा निर्धारण नभए थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने उनले बताए ।




