
गोरखाका स्थानीय तहको अवस्था बारे केन्द्रका पत्रकारलाई जानकारी
गोरखाका बिभिन्न नगरपालिका तथा गाउँपालिकाका प्रमुख, उपप्रमुखले आफ्नो पालिकाको महत्वपूर्ण गतिबिधि बारे केन्द्रका पत्रकारहरुलाई जानकारी गराएका छन् ।
नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको बैठकमा सहभागी हुन गोरखा आएका पत्रकारहरुलाई गोरखा नगरपालिका, पालुङटार नगरपालिका, बारपाक सुलीकोट गाउँपालिका, शहीद लखन गाउँपालिका र धार्चे गाउँपालिकाका प्रमुखहरुले जानकारी गराएका हुन् ।
सो कार्यक्रमका बोल्दै गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले नेपाल एकीकरणको जग गोरखा भएको र यहाँको बारेमा पाठ्यपुस्तकमै पढेकाले यहाँको महत्व बारे सबै जानकार रहेको बताए । साथै उनले गोरखा नगरपालिकाभित्र पर्ने ऐतिहासिक स्थल तथा धार्मिक स्थल गोरखा दरबार, गोरखकाली मन्दिर, गोरखनाथ गुफा, गोरखा संग्रहालय आदिको अवलोकन भ्रमण गरी प्रचार प्रसार गरिदिन आग्रह गरे ।
त्यस्तै पालुङटार नगरापलिकाका मेयर दीपकबाबु कँडेलले नेपाल एकीकरणको उत्पत्ति लिगलिगकोट मा भएको र सो स्थान पालुङटार नगरपालिकामा पर्ने भएकाले यसको अवलोकन भ्रमण गरी प्रचार प्रसार गरिदिन आग्रह गरे । पालुङ्टार नेपालको सबैभन्दा ठूलो टार भएको दाबी उनको थियो । साथै पहाडी उपत्यकामध्य दाङपछि पालुङटार उपत्यका सबैभन्दा ठूलो भएकाले यसको महत्व बारे प्रकास पारिदिन आग्रह गरे ।
पालुङ्टारबाट बर्षको ६ करोड रुपैयाँ बराबरको लिची निर्यात हुने, ग्रामीण भेगमा रहेर पनि सहरमा रहेको अस्पतालले झै उपचार सेवा दिइरहेको आँपपीपिल अस्पताल, ४० फिट अग्लो राष्ट्रिय झण्डा, लिगलिगे दौड जित्नेलाई एकदिने राजा घोषणा गर्ने परम्परा आदिको प्रचारप्रसारमा जोड दिन उनको आग्रह थियो ।
त्यस्तै भूकम्पको केन्द्रबिन्दू रहेको बारपाक सुलीकोट क्षेत्रको पर्यटन विकासमा टेवा दिन बारपाक सुलीकोट गाउँपालिकाका प्रमुख विष्णु भट्टले सुझाव दिए । बारपाक गाउँ देशकै सबैभन्दा ठूलो गाउँ भएको, यहाँ भीसी गजे घलेको नाममा भीसी संग्रहालय रहेको, देशकै ठूलो दाबी गरिएको सीता गुफा रहेको, सुलीकोट रुपाकोटको दिदीबहिनी डाँडा रहेको, बराम जातिको उद्गमस्थल रहेकाले यसको पर्याप्त प्रचार प्रसार गरिदिन उनको आग्रह थियो । धार्चे पिक, भूकम्प स्मृति पार्क, रुपिङ्ला पास यहाँको महत्वपूर्ण स्थल रहेको तर प्रचार प्रसारको अभाव भएको भन्दै त्यस ठाउँको अवलोकन भ्रमण गरी प्रचार प्रसार गरिदिन उनले आग्रह गरे ।
त्यस्तै धार्चे गाउँपालिकाका प्रमुख सन्तोष गुरुङले भूकम्पको बास्तविक केन्द्रविन्दू आफ्नो गाउँपालिकाको चुङगङ रहेकाले सो डाँडाको सेरोफेरोमा इपिसेण्टर ट्रेल विस्तार गर्न लागिएको जानकारी दिए । साथै आफ्नो गाउँपालिकामा भीसी थमन गुरुङको नाममा स्थापित थमन संग्रहालय, बेलायती राजकुमार ह्यारीको नाममा नामाकरण गरिएको ह्यारी हिल रहेको, नौलीखोला झरनामा क्यानोनिङ, एनआरएनले निर्माण गरेको गुप्सी एकीकृत बस्ती, यारुमा नेपालकै पहिलो क्यान्टिलिभर पुल, गणेश हिमाल, रुपिङ्ला पास जस्ता महत्वपूर्ण स्थल रहेकाले यसको प्रचार प्रसार गरिदिन माग गरे ।
कार्यक्रममा सहिद लखन गाउँपालिकाकी उपप्रमुख इन्दिरा तिवारीले आफ्नो गाउँपालिका स्थित मनकामना, बक्रेश्वरी मन्दिर, त्रिवेणी मन्दिर, सिद्ध लखनगुफा, प्रथमसहीद लखन थापाको स्मारक, भीमविरेश्वर सत्तल जस्ता महत्वपूर्ण स्थल रहेकाले यिनको प्रचार प्रसारमा सघाउन पत्रकारहरुसंग आग्रह गरिन् ।




