| बुधबार, कार्तिक २७, २०७६

३५ नम्बर पिलर पुगेका मन्त्री बस्नेतको अठोट : अब कुनै बहानामा रुइला सडक निर्माणमा ढिलाइ हुनेछैन

 

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत गोरखा र तिब्बतको सीमाना रुइला नाका पुगेर बुधबार पोखरा फर्किएका छन् । प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्का गुरुङको विशेष आग्रहमा मन्त्री बस्नेत मंगलबार रुइला नाकाको ३५ नम्बर जंगेपिलरमा पुगेर स्थलगत निरीक्षण गरेका फर्किएका हुन् ।

रुइलाबाट सामागाउँ, ल्हो हुदै नाम्रुङसम्मको ३५ किलोमिटर सडक निर्माणको तयारीका लागि गरिएको निरीक्षण भ्रमणमा भौतिक पुर्वाधार विकास मन्त्री बस्नेतको साथमा चुमनुब्री गाउँपालिका वडा नं. १ का अध्यक्ष वीरबहादुर लामा, वडा नं. २ का अध्यक्ष पेम्बारेता लामा र ४ का वडाअध्यक्ष पेमा डुण्डुप लामालगायत स्थानीय समाजसेवीहरु सहभागी थिए । सो अवसरमा मन्त्री बस्नेत र तिब्बतको कोङताङ पालिका प्रमुख धाचुङ रुचीसंग भेटघाट भएको छ । भेटमा धाचुङले निर्माण सामग्री तथा इन्धन कोङदाङबाट ल्याउन वातावरण सहज बनाइदिने प्रतिवद्धता गरेका थिए ।

सामागाउँबाट घोँडा चढेर सीमानामा पुगेपछि मन्त्री बस्नेतले गरेको अनुभूति र प्रतिवद्धताको बारेमा गरिएको कुराकानीको सार संक्षेप ः
३५ नम्बर जंगेपिलरमा पुग्दा कस्तो महशुस भयो ?

त्यहाँ पुगेर उता र यताको विकास हेर्दा हामी ५० बर्ष पछाडि रहेछौं भन्ने लाग्यो । किनभने सीमानाभन्दा उताको भौगोलिक संरचना असाध्यै जटिल छ । सीमानाबाट रुइ गाउँसम्म १८ किलोमिटर दुरी छ । बाटो निर्माण गर्न धेरै जटिल देखिन्छ तर पक्की सडक निर्माण भइसकेको छ । हाम्रो अन्तिम गाउँ साम्दो आइपुग्दा जम्मा नौ किलोमिटर छ त्यो पनि सडक निर्माण गर्नका लागि हाम्रोतर्फको भूगोल असाध्यै सजिलो छ । धागो तानेको जस्तो सोझो पनि छ । तर अहिलेसम्म सडक निर्माण भएको छैन ।

धेरै पहिले नै सडक निर्माण भइसक्नु पर्ने, किन गर्न सकेनौ होला भन्ने लाग्यो ।

किन सकेनौ त ?

पहिलो कारण त विकास निर्माणका लागि हाम्रो दृढ इच्छाशक्तिको अभाव हो । दोस्रो कारण विकास माग गर्नका लागि स्थानीयबासीको सरकारसंगको पहुँचको कमी हो ।

यो सडकको के महत्व छ ?

यो सडकको धेरै ठूलो महत्व छ । महत्वको बारेमा उजागर गर्ने माध्यमको अभावले गर्दा ओझेलमा परेको मैले पाएँ । बुँदागत रुपमा नै भन्ने हो भने नम्बर १, यदि यो सडक निर्माण भयो र बेनिघाट, आरुघाट, लार्के सडक सञ्चालनमा आयो भने चुमनुब्रीका बासिन्दाको जनजीवनमा कायापलट हुने छ । नंबर २, चुमनुब्रीका लागि मात्र होइन, हाम्रो प्रदेश सरकारले यो प्रदेशको गरिबी १४ प्रतिशतबाट घटाएर सात प्रतिशत बनाउने लक्ष्य लिएको छ । यदि यो सडक निर्माण भयो भने गोरखाको मात्र होइन, गण्डकी प्रदेशको गरिबीको दर सात प्रतिशतमा झर्ने छ ।
नम्बर ३, यो सडक निर्माण भयो भने काठमाडौं, नारायणगढ र पोखरा जस्ता तीन ठूला सहरसम्म जोड्ने यो मात्रै सबैभन्दा छोटो राजमार्ग बन्नेछ । पोखरा जोड्नका लागि कोरला नाकाबाट भन्दा भन्दा यही राजमार्ग छोटो बन्ने छ । अहिले सेनाले बनाइरहेको सडक हेर्दा काठमाडौं, रसुवागढी सडक भन्दा यो सडक धेरै पक्की र भरपर्दो छ । नंबर ४, यो सडक निर्माण भयो भने प्रसस्तै चिनियाँ पर्यटकहरु मनास्लु क्षेत्र र नेपालका अन्य पर्यटकीय स्थलहरुमा आउनेछन् । किनभने प्राकृतिक सुन्दरताको दृष्टिले तिब्बततर्फभन्दा हाम्रोतर्फ उत्कृष्ठ रहेछ ।

यति महशुस गरिसकेपछि ३५ नंबर जंगेपिलरमा उभिएर तपाईँले के अठोट गर्नुभयो ?

बेनिघाट, आरुघाट, लार्के सडक निर्माणका लागि तलबाट नेपाली सेनाले काम गरिरहेको छ । रुइलाबाट निर्माणका लागि प्रदेश सरकारले गतबर्ष चार करोड बिनियोजन गरेको थियो । त्यसको काम हुन सकेन । यसबर्ष दुई करोड रुपैयाँ बिनियोजन गरिएको छ । यसबर्ष डिपिआर बनिसकेको छ । केही महिनाभित्र इआइए पनि बनिसक्नेछ । फागुनबाट निश्चित रुपमा निर्माणको काम सुरु हुनेछ । यदि बाधा ब्यबधान आयो भने समाधान गरी सडक निर्माण गरिनेछ । बिनियोजन भएको बजेट सकियो भने पनि थप गरी काम गरिनेछ । जुनसुकै हालतमा पनि यो सडक निर्माण गर्न ढिलाइ हुन दिनेछैनौं ।

प्रतिक्रिया दिनुहोस्