| शनिबार, कार्तिक २८, २०८३

लाप्राकीलाई नमुना बस्तीमा घर हस्तान्तरणको तयारी सुरु

किरण लोहनी :

निर्माण कार्य सुरु भएको तीनबर्षपछि गुप्सीपाखाको एकीकृत बस्तीको घर लाप्राकबासीलाई हस्तान्तरण गर्ने प्रक्रिया सुरु भएको छ ।
अहिले अन्तिम लाभग्राही छनौट गरी उनीहरुलाई जग्गाको लाल पूर्जासहित घर हस्तान्तरणको अन्तिम चरणको काम सुरु भएको गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए ।

पाँचसय ७३ लाभग्राहीका लागि घर निर्माण सुरु गरिए पनि अहिले लाभग्राहीको संख्या हेरफेर भएको हुन सक्ने भएकाले अन्तिम छनौट थालिएको हो । अन्तिम लाभग्राही छनौटको काम धार्चे गाऊँपालिकाले गर्नेछ । ‘त्यसका लागि धार्चे ४ का वडा अध्यक्ष राज गुरुङको संयोजकत्वमा समिति बनाइएको छ’ गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले भने, ‘यो समितिले कात्तिक २३ गतेसम्ममा अन्तिम लाभग्राहीको टुंगो लगाउँछ ।’ बस्ती निर्माण सुरु गर्दा कायम भएका लाभग्राहीको संख्या अहिले थपघट भएको हुन सक्ने भएकाले फेरि लाभग्राही यकिन गर्नुपरेको अध्यक्ष गुरुङले बताए ।

अन्यत्र घरजग्गा नभएकालाई मात्रै अब लाभग्राहीको सूचीमा राखिनेछ । वास्तविक लाभग्राही यकिन भैसकेपछि उनीहरुको नाममा लालपूर्जा बनाउने काम सुरु हुने पुननिर्माण प्राधिकरण अन्तर्गतको अनुदान ब्यवस्थापन तथा स्थानीय पूर्वाधार इकाई गोरखाका प्रमुख रामशरण आचार्यले बताए । ‘लालपूर्जा हस्तान्तरणका लागि जग्गा कित्ताकाटको काम अन्तिम चरणमा पुगिसकेको छ, फिल्डको काम सकेर अहिले टेवल वर्क भैरहेको छ’ उनले भने, ‘ब्यक्तिगत सहित स्वास्थ्य चौकी, विद्यालयको जग्गाको पनि कित्ताकाटको काम भैरहेको छ ।’
हरेक लाभग्राहीले ३ आना दुईपैसा जग्गाको लालपूर्जा पाउने छन् । लालपूर्जा पाएपनि उनीहरुले १० वर्षसम्म घरजग्गा बिक्री गर्न भने पाउने छैनन् । परिवारमा स्वत हस्तान्तरण हुने बाहेक घरजग्गा बिक्री गर्न नपाइने इकाईका प्रमुख आचार्यले जानकारी दिए ।
धार्चे गाऊँपालिका वडा नम्वर ४ लाप्राकको गुप्सीपाखाको १८ दशमलव ३२ हेक्टर क्षेत्रफल जग्गामा लाप्राकका भूकम्प पीडित हरुका लागि घर निर्माण भैरहेको छ ।

गैरआवासीय नेपाली संघ एनआरएनएले बस्ती निर्माण थालेको हो । ५ शय ७३ जनाका लागि त्यतिनै संख्यामा घर निर्माण गरिएको छ । अहिले घरको शौचालय निर्माणको काम भैरहेको छ । त्यसपछि माथिल्लो तल्लामा काठ राख्ने काम सकिएपछि घर हस्तान्तरण गर्ने एनआरएनएको तयारी छ ।

घर निर्माण बाहेक बस्ती आसपासको बाटो, सिंढी र नाला निर्माण लगायतको काम धार्चे गाऊँपालिका ले गर्नेछ । त्यसको लागत भने गैरआवासीय नेपाली संघलेनै गर्ने गरि सम्झौता भएको गाऊँपालिका अध्यक्ष सन्तोष गुरुङले बताए । संघका नवनिर्वाचित अध्यक्ष कुमार पन्तले अबको दुई महिनाभित्र घर निर्माण पूरा गरि नेपाल सरकारलाई हस्तान्तरण गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्