
गोरखाका सांसद र कार्यालय प्रमुखहरु बीच अन्तरक्रिया, गेमचेञ्जर योजनाको कछुवागतिप्रति चिन्ता
किरण लोहनी :
गोरखाका संघीय सांसद तथा पूर्वाधारसंग सम्बन्धित सबै कार्यालयका प्रमुखहरु बीच सोमबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालयको सभाहलमा सम्पन्न कार्यक्रममा संघीय तथा प्रदेश सरकारअन्तर्गतका कार्यालय प्रमुखहरुले आफ्ना प्रगति बिबरण प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बोल्दै क्षेत्र नं. २ का सांसद तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले जिल्लाको कायापलट गराउने योजनाहरुको गति सुस्त भएकोप्रति चिन्ता ब्यक्त गरे । ‘जिल्लाको गेमचेञ्जर भनिएका योजनाहरुको गतिसुस्त छन्’, उनले भने, ‘बूढीगण्डकी आयोजना, मध्यपहाडी आयोजना र बारपाक सडकको काम जुन गतिमा हुनुपर्ने हो भएन । यसमा म सन्तुष्ट छैन ।’ राजनीतिक अंग र कर्मचारी बीच तालमेल नमिलेका कारण विकास निर्माणको कामले गति लिन नसकेको हुनसक्ने उनले तर्क गरे ।
विकासलाई प्रक्रियामुखी होइन, परिणममुखी बनाउनु पर्नेमा भट्टराईले जोड दिए । ‘कतिपय कर्मचारीमा काम बिगारेर दोष लिनुभन्दा कामै नगरे बरु आनन्द हुन्छ भन्ने प्रवृत्ति हावी भएको छ’, उनले भने, ‘विकास त एउटा प्रक्रिया हो, भइरहन्छ भनेर बस्ने होइन, मेरो कार्यकालमा यति परिणाम निकालेर देखाउँछु भन्ने लक्ष्यसहित काम गर्नुपर्छ ।’ ठेक्का लागेका सडकमा पाती उम्रिएको प्रति उनले चिन्ता ब्यक्त गरे ।
कुशल कर्मचारीको काम फाइल धकेल्नु मात्र नभै काम गर्ने र अप्ठ्यारा आइपरे समाधान खोज्नु पनि रहेको उनले बताए । बूढीगण्डकको मुआव्जा निर्धारणमा ढिलाइ नगर्न उनले आग्रह गरे । ‘माग्नेको काम माग्ने हो । दिनेको काम दिने हो’, उनले भने, ‘माग्नेले यति मागे भनेर तर्सेर बस्ने होइन, आफूले दिन सक्ने जति निर्धारण गर्ने आफ्नो काम हो । कमसेकम तोकेर त हेरुँ, त्यसपछि एउटा बहशको बिषय बन्छ ।’ मुआव्जा निर्धक्कसंग तोक्न उनले आग्रह गरे ।
कार्यक्रममा बोल्दै अर्का सांसद सुरेन्द्र पाण्डेले बूढीगण्डकी पीडित जनप्रतिनिधिहरुको २६ गतेदेखिको आनदोलन स्वभाविक भएको दाबी गरे । साथै उनले सो आन्दोलनमा आफूहरु समेत सहभागी हुनसक्ने लक्षित गरे । ‘मुआव्जा निर्धारण पनि नगर्ने, बूढीगण्डकी क्षेत्रमा विकास निर्माणका काम पनि ठप्प पारेर सरकारले त्यो क्षेत्रका बासिन्दालाई ज्यादै निर्मम ढंगले ब्यबहार गरिरहेको छ’, सांसद पाण्डेले भने, ‘यस्तै हो भने, बूढीगण्डकी पीडितहरुको आन्दोलनको नेतृत्व हामीले नै लिनु पर्ने अबस्था आउन लागिसक्यो ।’
सातदोबाटेको अन्नपूर्ण जंगलको सडकखण्ड लामो समयदेखि कालोपत्रे हुन नसकेकोतर्फ उनले चिन्ता ब्यक्त गरे । कार्यक्रममा अर्का सांसद चुडामणि खड्काले पनि आफ्ना धारणा राखेका थिए । उनले विकास निर्माणको काममा आपसी मिलापका साथ काम गर्न र राजनीति नगर्न सुझाव दिएका थिए । सो कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले बूढीगण्डकी मुआव्जा निर्धारणका लागि अन्तिम तयारीमा रहेको बताएका थिए ।




