| शनिबार, कार्तिक २८, २०८३

लिदिङमा बल्यो धार्चेमै पहिलो केन्द्रीय प्रशारण लाइनको विद्युत

किरण लोहनी :

गोरखाको धार्चे गाऊँपालिकामा पहिलो पटक केन्द्रिय प्रशाारण लाइनको विजुली बलेको छ ।

धार्चे वडा नम्वर ७ को लिदिङका १० घरमा कात्तिक ६ गतेबाट विजुली बलेको विद्युत प्राधिकरण आरुघाट वितरण केन्द्रका प्रमुख निरज पौडेलले बताए ।

लिदिङ केन्द्रिय प्रशारण लाइनको विजुली बल्ने धार्चेकै पहिलो गाऊँ पनि बनेको छ । ‘भूकम्पअघि स्थानीय लघुजलविद्युत योजनाको विजुली बाल्दै आएका रहेछन्’ पौडेलले भने, ‘भूकम्पका कारण नौलीखोला लघुजलविद्युत आयोजनामा क्षति पुगेपछि लिदिङ गाऊँमा विजुली बन्द भएको रहेछ, हामीले केन्द्रिय प्रशारण लाइन पु¥याएपछि उहाँहरु खुशी हुनुभएको छ ।’ मनासलु पदमार्गमा पर्ने लिदिङका धेरैजसो बासिन्दाले होटल ब्यवसाय सञ्चालन गर्दै आएका छन् ।

नियमित विजुली बाल्न पाएपछि होटल ब्यवसाय सञ्चालन गर्न पनि सजिलो हुने स्थानीय बासिन्दा बेली गुरुङले बताइन् । ‘पहिले विजुली बाल्ने बानी परिहाल्यो, भूइंचालोले भएको विजुली समेत नबलेपछि त कस्तो कस्तो लाग्थ्यो, अहिले निकै सजिलो भएको छ’ उनले भनिन्, ‘केटाकेटीलाई पढाउनदेखि मोबाइल चार्ज गर्न समेत सजिलो भयो, नत्र त सोतीवजारमा मोबाइल चार्ज गर्न पठाउनुपथ्र्यो ।’

विजुली पुगेसँगै लिदिङका केही घरधुरीले भने घरेलु उद्योग सञ्चालनको तयारी पनि गरेका गुरुङको भनाई छ । धार्चे गाऊँपालिकाका बाँकी वस्तीहरुमा पनि यही वर्षभित्र केन्द्रिय प्रशारण लाइन पु¥याउने लक्ष्य रहेको आरुघाट वितरण केन्द्र प्रमुख पौडेलले बताए । ‘पहिलो चरणमा भीरकुना, माछाखोला, लप्सीबोट र यमगाऊँसम्म केन्द्रिय प्रशारण लाइनको विजुली पु¥याउने र क्रमैसँग अरु वस्तीमा पनि विस्तार गर्दै लैजाने प्राधिकरणको लक्ष्य छ’ उनले भने, ‘माछाखोलासम्म त पोल पनि गाडिसक्यौं, पहिले भीरकुनामा विजुली बाल्छौं अनि अरु वस्तीको काम अघि बढाउँछौं ।’ धार्चेसँगै अर्को विकट गाऊँपालिका चुमनुब्रीतर्फ पनि केन्द्रिय प्रशारण लाइन विस्तार गर्नका लागि काम शुरु भैसकेको पौडेलले बताए । माछाखोलासम्म भने पोल गाड्ने काम भैसकेको छ ।

त्यहाँबाट चुमनुब्रीतर्फ विद्युत विस्तार गर्नका लागि पोल खरीद प्रक्रिया शुरु भैसकेको आरुघाट वितरण केन्द्रले जनाएको छ । यो वर्ष ३ शय पोल खरीद गरि माछाखोलाबाट धार्चे र चुमनुब्रीको सीमा यारुवगरसम्म प्रशारण लाइन विस्तार गरिने पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्