| शनिबार, कार्तिक २८, २०८३

तिब्बतको सीमाबाट सडक खन्ने तयारीका लागि मन्त्री बस्नेतको टोली निरीक्षण गर्न आज जाँदै

गोरखा र तिब्बतको सीमाना रुइलाबाट सामागाउँ, ल्हो र नाम्रुङसम्म सडक निर्माणको सम्भाव्यता बारे अध्ययन गर्न गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतसहितको टोली आइतबार त्यसतर्फ जाने भएको छ ।

मन्त्रालयका सचिव इश्वरचन्द्र मरहट्टासहितको पाँचजनाको टोली त्यसतर्फ जाने मन्त्री बस्नेतले जानकारी दिए ।

उनका अनुसार नाम्रुङसम्म हेलिकोप्टरमा जाने र त्यहाँ स्थानीयबासीसंग भेटघाट गर्ने, ल्होमा प्रदेश सरकारबाट नवनिर्मित खानेपानी आयोजनाको उद्घाटन गर्ने र सामागाउँ पुगेर बासबस्ने कार्यक्रम रहेको छ । सामागाउँबाट ३५ नम्बर पिलरसम्म पुगेर सामागाउँ आई बस्ने कार्यक्रम रहेको उनले बताए ।

सामागाउँबाट हेलिकोप्टरमै फर्कने उनले बताए । ३५ किलोमिटर सो सडकको गतबर्ष सर्भे सम्पन्न भएको छ । डिपिआर पनि बनिसकेको र वातावरणीय प्रभाव मूल्यांकन(ईआइए)को चरणमा रहेको मन्त्रालयले जनाएको छ । ‘यसबर्ष सो सडकका लागि दुई करोड रुपैयाँ बिनियोजन भएको छ’, मन्त्री बस्नेतले भने, ‘यो हिउँदभित्र ईआइए सकिन्छ र हिउँ पर्न छोडेपछि निर्माणको काम सुरु गर्ने हाम्रो लक्ष्य छ ।’ उपभोक्ता समिति बनाएर काम गर्ने योजना रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्