| मङ्लबार, कार्तिक २६, २०७६

धार्चे र बारपाक सुलिकोट गाउँपालिकाको सीमानालाई वैज्ञानिक ढंगले सिमांकन गरिने

धार्चे र बारपाक सुलिकोट गाउँपालिकाको सीमानालाई वैज्ञानिक ढंगले सिमांकन गरिने भएको छ । दुई गाउँपालिकाको सीमा विवाद समाधान गर्न जिल्ला समन्वय समितिमा सोमबार विहान बसेको बैठकले दुबै गाउँपालिकाको सीमानालाई वैज्ञानिक ढंगले सिमांकन गर्नको लागि स्थानीय दुबैतर्फका वस्तीको परामर्शमा संघ तथा प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरेको हो । सर्वपक्षिय बैठकमा सातबुँदे सहमति भएको जिल्ला समन्वय समितिका प्रमुख अशोक गुरुङले जानकारी दिए ।

सहमति अनुसार बारपाकका बासिन्दाले धार्चे गाउँपालिका प्रवेश गर्ने मुख्य सडकमा जारी राखेको अबरोध अब हटाउने भएका छन् । बारपाक लाप्राकको सडक मर्मत कार्यलाई तत्कालअघि बढाउने र लाप्राकसम्म बस आउजाउ गर्ने ब्यबस्था मिलाउने बैठकले निर्णय गरेको छ । सीमा विवाद बढ्दै गएपछि बारपाकको सामुदायिक वन समितिले आफ्नो क्षेत्रमा चरनका लागि आएका लाप्राकका किसानको बोका÷ बाख्रा नियन्त्रणमा लिएका थिए । बारपाकीको नियन्त्रणमा रहेको लाप्राकका किसानको बोका ÷बाख्राहरु तत्काल फिर्ता गर्ने पनि बैठकले निर्णय गरेको छ ।

जडिबुटी र खानेपानीको मुहान भएको हिमालको फेदीमा पर्ने रालाङ र सासिङ भन्ने ठाउँ लाप्राकीले कब्जा गरेको बारपाकका बासीन्दाले बताउँदै आएका थिए । यसै सन्दर्भमा बारपाक सुलिकोट गाउँपालिका र धार्चे गाउँपालिका दुबै तर्फबाट परापुर्व कालदेखि प्रयोग हुँदै आएका सीमानामा रहेका खर्कहरु आ आफुले प्रयोग गर्दै जाने र एक अर्कामा गाउँले हस्तक्षेप नगर्ने निर्णय भएको जिल्ला समन्वय समितिका प्रमुख गुरुङले बताए । ‘परापुर्वकालदेखि प्रयोग गर्दै आएको आएका खर्कहरु साविक जे जसरी प्रयोग भएका छन्, त्यसलाई नै निरन्तरता दिने निर्णय भएको छ।’ उनले भने । खानेपानीको सवालमा प्राविधिक परामर्शको आधारमा स्थानीय बासीन्दाको आबश्यकता अनुसार सहमतिमा पानी बाडँफाडँ गर्ने पनि निर्णय भएको छ ।

बारपाक लाप्राक सडकको कारणबाट विस्थापित बनेका तथा जोखिममा परेका स्यामेर, तसरा र तुम्सीका लगायतका वस्तीहरुको पुर्नस्थापना तथा संरक्षणका लागि संघ तथा प्रदेश सरकारमा अनुरोध गर्ने पनि बैठकले निर्णय गरेको छ । यसका लागि जिल्ला प्रशासन कार्यालयले समन्वय गर्ने भएको छ । अन्य विषयमा दुबै गाउँपालिकाले सम्बन्धीत वडाहरुसँग परामर्श गरी छलफलको आधारमा टुंगो लगाउने र शान्ती सुरक्षामा खलल पुग्ने गतिविधि नगर्ने निर्णय भएको समन्वय समितिका अधिकृत हर्क रोकाले जानकारी दिए ।

जिल्ला समन्वय समितिका प्रमुख गुरुङको अध्यक्षतामा भएको बैठकमा प्रमुख जिल्ला अधिकारी देबेन्द्र लामिछाने, धार्चे गाउँपालिकाका प्रमुख सन्तोष गुरुङ, बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्ट, जिल्लाका सुरक्षा निकायका प्रतिनिधी, राजनैतिक दल लगायत सहभागी थिए । आइतबार बसेको बैठक विनानिष्कर्ष सकिएपछि सोमबार पुनः बैठक बसेको हो ।

प्रतिक्रिया दिनुहोस्