
लाप्राकको एकीकृत बस्तीमा शौचालय बनाउने जिम्मा गाउँपालिकालाई
अनुपमा खनाल
गोरखा ः लाप्राकको गुप्सीपाखामा निर्माणाधीन एकीकृत नमुना बस्तीमा शौचालय निर्माण तथा काठको काम ब्यबस्थापनको जिम्मेवारी गाउँपालिकालाई दिइएको छ । लाप्राकका भूकम्पपीडितका लागि गैरआबासीय नेपाली संघ(एनआरएनए)ले निर्माण गरेको बस्तीमा शौचालय निर्माण लगायतका काम ब्यबस्थापनको जिम्मेवारी धार्चे गाउँपालिकालाई दिईएको हो ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत शुसील ज्ञवालीको अध्यक्षतामा गत सोमबार लाप्राक एकीकृत बस्ती सम्बन्धमा भएको बैठकले बस्तीमा शौचालय, घरका तलामा काठ सम्बन्धी लगायतका काममा लाग्ने रकम एनआरएनएले एकमुष्ठ गाउँपालिकाको खातामा उपलब्ध गराउने र ब्यबस्थापनको काम गाउँपालिकाले गर्ने निर्णय भएको हो ।
बैठकले पूर्वाधार विकास अन्तरगत नाला निर्माण, भुक्षय रोकथाम, खानेपानी, विद्युत, आन्तरिक सडक, सुरक्षा चौकी, स्वास्थ्य संस्था विद्यालय भवन, लगायतका विषयमा हालसम्म भएका प्रगति विवरण एकिन गरी प्रतिवेदन पेश गर्न केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन)को सिडिईको संयोजकत्वमा कार्यदल गठन गरेको धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए ।
कार्यदलमा केन्द्रीय कार्यान्वय इकाई (जिमाली)का प्राविधिक, गाउँपालिकाका प्रतिनिधि, एनआरएनएका प्रतिनिधि सदस्य रहेका छन् । सो कार्यदलले नमुना बस्तीमा तत्कालीन र दिर्घकालिन रुपमा गर्नुपर्ने काम र लागत अनुमानमा बारेमा प्रतिवेदन तयार गरी एक महिनाभित्र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा पेश गर्ने निर्णय भएको अध्यक्ष गुरुङले बताए ।
बैठकले एक महिनाभित्र गाउँपालिकाले लाभग्राही एकीन गरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा पेश गर्ने, जिल्ला जग्गा दर्ता सिफारिस समितिले आबश्यक प्रक्रिया पूरा गरी लाभग्राहीको नाम र कित्ता एकिन गरी जग्गा दर्ताका लागि ४५ दिनभित्र प्राधिकरणमा पेश गर्ने पनि निर्णय भएको छ ।
लाप्राक गाउँ छाडेर गुप्सीपाखामा बस्न आउने भूकम्प पीडितलाई जीविकोपार्जन सम्बन्धी कार्यक्रम पनि सञ्चालन गरिने भएको छ । यसका लागि एनआरएनएले गाउँपालिकासँग समझदारी गरी कार्यक्रम प्रस्ताव तयार गरेर प्राधिकरणमा पेश गर्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष गुरुङले जानकारी दिए । बैठकले बस्ती विकासको काम सम्पन्न नहँुदासम्म नेपाली सेनाको सहयोग निरन्तरताका लागि नेपाली सेनाको जङगी अड्डालाई अनुरोध गरेको छ । बैठकमा प्राधिकरणका पदाधिकारी, एनआरएनएका अध्यक्ष भवन भट्ट, धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङ लगायतको सहभागीता थियो ।
धार्चे गाउँपालिका ४ लाप्राकको गुप्सीपाखामा एनआरएनएले भुकम्प पिडित लाप्राकीको लागि बनाउदै गरेको ५ सय ७३ घर निर्माण कार्य अन्तिम चरणमा छ । गुप्सीपाखाको १८.३ हेक्टर जग्गा स्वामित्वमा लिएर बस्ती निर्माण गरिएको हो । नमुना बस्तीमा प्रत्येक घर ३ आना ३ पैसा क्षेत्रफलमा बनाईएको छ । लाप्राक नमुना बस्ती गुरुयोजना अनुसार सबै एकै प्रकारका २ तले ४ कोठे घर बनाईएको छ । पहिलो तला सीमेन्ट, इट्टा र बालुवाको प्रयोगले बनाइएको छ भने दोस्रो तल्लामा एसि ब्लक प्रयोग गरिएको छ । २०७३ माघबाट बस्ती निर्माण प्रक्रिया सुरु भएको थियो ।




