| शनिबार, कार्तिक २८, २०८३

गोरखामा दशैं मनाउन आएकालाई फर्कन सास्ती, मुख्य बजारमै रिजर्भ गाडीका ताँती

दशै मनाउन बिभिन्न सहरबाट गाउँ आएकाहरुलाई गन्तव्यतर्फ फर्कन सस्ती भएको छ । सवारी साधन नपाएपछि यात्रुहरुले दोब्बर भाडा तिरेर बस रिजर्भ लिदै गन्तव्यतर्फ जान बाध्य भएका छन् ।

माइक्रोलाई सातसयदेखि एकहजार रुपैयाँसम्म बढि भाडा तिरेर रिजर्भ गरिएको र ठूलो बसका लागि पाँचसय देखि छसय सम्म भाडा तिरेर रिजर्भ गाडी चढ्ने गरेको यात्रुको गुनासो छ । ‘काठमाडौंसम्मको माइक्रोको टिकट पाइयो भने ३७० रुपैयाँ तिरे पुग्छ तर हामी १७, १८ जना मिलेर रिजर्भ गरेका हौं । सातसय रुपैयाँ तिरेका छौं’, अश्राङका राजु भट्टले भने, ‘नगई पनि भएको छैन । दोब्बर नतिरे सुख छैन ।’

गाउँबाट चल्ने बसले दोब्बर तेब्बर यात्रु कोचिरहेको अर्का यात्रु भवानी ढकालको गुनासो छ । ‘बजारमा त के यात्रुको भीड छ र ? गाउँमा हेर्न जानुस् त ?’ क्यामुण्टारका यात्रु ढकाल भन्छन्, ‘नचढौं पनि गन्तब्यमा नपुगी भएको छैन, चढौं भने गाडीभित्र दोब्बर यात्रु छन् । छतमा मात्रै एक बस यात्रु छन् ।’ क्यामुण्टारबाट काठमाडौं जान डर लागेर आफू सदरमुकामको बाटो आएको उनले बताए । ‘दशैं मान्न नआउँ पनि परापूर्व कालदेखि मानिआएको चाड, आउँ पनि यस्तो बिचल्ली छ’, ढकालले भने, ‘यस्तो बेलामा हल्टेजमा नराखी सबै बस चलाउनु पर्छ नि । तेब्बर यात्रु नकोचिउञ्जेल गाडी नै चलाउँदैनन् ।’ प्रहरी प्रशासनले निगरानी नगरेको उनको दुखेसो छ ।

रिजर्भ नगरे गाडी नै नपाइने अर्का यात्रुको गुनासो छ । ‘काउण्टरमा जाउँ भने टिकट छैन, सकियो भन्छन् । १२ बजे नै काउण्टर बन्द गरेर बस्छन् अनि रिजर्भ नगरे के गर्नु’, एक यात्रुले गुनासो गरे, ‘यात्रुलाई सास्ती छ । यही मौका छोपेर ब्यबसायीलाई लुट भएको छ ।’

रिजर्भ गाडीको ताँती लागेको हरमटारीचोकमा ड्युटिमा खटिएका ट्राफिक प्रहरी भने सवारी साधन कुन बिधिले चलेको छ भन्ने बारे अनभिज्ञता प्रकट गर्छन् । ‘हामी त भिड हटाउने हो । दुर्घटना हुन नदिने हो’, एक ट्राफिक प्रहरीले भने, ‘रिजर्भमा चलायो, दोब्बर भाडा लियो भन्ने उजुरी आएको छैन ।’ यात्रु ठगिएको बारे जानकारी नहुने भन्दै सडकमा खटिएका अर्का एक प्रहरी लुटपाट हुन नदिने, झै झगडा हुन नदिने आफ्नो कर्तव्य रहेको बताउँछन् ।

गोरखामा यातायात सञ्चालन गर्ने दरौंदी यातायात सेवा प्रालिका सञ्चालक अञ्जन खत्री भने यात्रुहरु काउण्टरमा नपुगी बीचबीचै रिजर्भ गर्ने गरेको बताउँछन् । ‘काउण्टर अघि हुनुपर्ने भीड सडकसडकमा छ’, खत्री भन्छन्, ‘यात्रु त काउण्टर जानु पर्छ नि, तर गोरखा आउँदै गरेको गाडीलाई हतास मनस्थितिले बीच बाटोमै रोकेर ग्रुप बनाएर पैसा बार्गेनिङ गर्न थाल्छन् ।’

अनाधिकृत रुपमा गाडी रिजर्भ गरेर चलाउनु दण्डनीय भएको प्रमुख जिल्ला अधिकारी देबेन्द्र लामिछानेको भनाइ छ । बढि भाडा लिएर रिजर्भ गरेको बारे जानकारी भएमा कारबाही गर्ने उनी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्