
यस्तो छ गोरखामा चाडबाड बिशेष सुरक्षा योजना
नजिकिदै गरेको दशैं, तिहार लगायतका चाडपर्वलार्र्ई लक्षित गरी जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयले विशेष सुरक्षा योजना ल्याएको छ ।
चाडपर्वका बेला आपराधिक घटना तथा दुर्घटना हुन नदिई शान्ति सुरक्षा कायम गर्न बिशेष सुरक्षा योजना ल्याइएको प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीले बताए । नागरिकले सहज रुपमा चाडपर्व मनाउने वातावरण बनाउनका लागि जिल्ला प्रहरी कार्यालयबाट विशेष सुरक्षा योजना तयार गरिएको उनको भनाई छ । ‘विशेष सुरक्षा योजना अन्तर्गत पैदल गस्ती, मोबाईल गस्ती, पेटूोलिङ्ग, पिकेटिङ्ग, आकस्मिक चेकिङ, एम्ब्युसिङ, मोटरसाईकल गस्ती सहित बजार अनुगमनको व्यवस्था समेत गरिएको छ’ उनले भने, ‘हामीसँग सीमित जनशक्ति छ । उनीहरुलाई नै अत्यधिक परिचालन गरेर नागरिकलाई ढुक्कसँग चाडबाड मनाउने अवस्था बनाउँछौं ।’
विशेष सुरक्षा योजना अन्तर्गत कार्यालय सुरक्षार्थ बाहेक पनि प्रहरी कर्मचारी परिचालन हुने जनाइएको छ । चाडपर्बको बेलामा बैंक तथा वित्तिय संस्था, महत्वपूर्ण प्रतिष्ठान, सुन चाँदी पसल, बढि भीडभाड हुने स्थानहरूमा सादा पोशाकमा प्रहरी परिचालन गरिने एसपी अधिकारीले जानकारी दिए । यसैगरी मन्दिर तथा शक्तिपिठहरूमा दर्शनार्थीहरूको सुरक्षाको लागि प्रहरी परिचालन गरिने, यात्राको क्रममा यात्रुहरूलाई कुनै किसिमको हैरानी तथा बढी भाडा तिर्न नपरोस भन्ने उदेश्यले यात्रु सहायता कक्षको व्यवस्था समेत मिलाइएको गोरखा प्रहरीले जनाएको छ ।
यस्तै चाडपर्बका बेलामा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने उपर कानुन वमोजिम कारवाही गरिने, मुख्य राजमार्ग तथा सहायक राजमार्गहरूमा संचालित सवारी साधनमा क्षमता भन्दा बढी यात्रु चढाउने, टूाफिक नियम उलंघन गर्ने माथि कारवाहीको लागि टूाफिक सहितको संयुक्त चेकिङको पनि व्यवस्था मिलाइएको छ ।
‘हामी प्रशस्तै छड्के चेकिङ गर्छौं, त्यसको क्रम सुरु गरिसकेका छौं’ एसपी अधिकारीले भने, ‘चाड बाडमा मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउनेहरु पनि प्रशस्तै हुन्छन्, हामी यो वर्षको दशैंलाई दुर्घटनारहित बनाउन चाहन्छौं ।’
२४ सै घण्टा आमनागरिकका सेवा तथा सुरक्षाको लागि शंकास्पद गतिविधि देखेमा तथा सुरक्षामा अप्ठेरो महसुस भएमा जिल्ला प्रहरी कार्यालय गोरखाको हट नम्वर १०० मा २४ सै घण्टा सूचना दिन समेत सर्व साधारणमा जिल्ला प्रहरी कार्यालय गोरखाले अनुरोध गरेको छ ।




