| शनिबार, कार्तिक २८, २०८३

पन्थडिही कटहरे हर्मी सडक भारतीय एक्जिम बैंकको सहयोगमा कालोपत्रे हुने

 

किरण लोहनी :

सात वर्षदेखि अलपत्र गोरखाको पन्थडिही कटहरे हर्मी सडक भारत सरकारको सहयोगमा कालोपत्रे हुने भएको छ ।

भारतको एक्जिम बैङ्क अफ इण्डियाको सहुलियतपूर्ण ऋण सहयोगमा सडक कालोपत्रे हुन लागेको हो । हाल हर्मी भञ्ज्याङसम्म रहेको टूयाकलाई साइँलीटारसम्म विस्तार गरि सडक कालोपत्रे गरिने सडक सुधार तथा विकास आयोजना निर्देशनालयका परियोजना प्रमुख सुशिल ढकालले बताए ।

‘एक्जिम बैङ्कले नेपालका विभिन्न १२ वटा सडक र पुल निर्माणका लागि ३४ अर्ब रुपैया ऋण सहयोग उपलब्ध गराएको थियो, सोही प्याकेज अन्तर्गत महाकाली नदिमा बन्ने पुल निर्माणका क्रममा बचत भएको रकम पन्थडिही कटहरे हर्मी हुँदै साइँलीटारसम्मको सडक स्तरोन्नतीमा लगाइने हो’ उनले भने ।

योजनाको पूर्व तयारीका क्रममा विस्तृत आयोजना प्रतिवेदन डिपिआर तयार भैसकेको छ भने प्रारम्भिक वातावरणीय अध्ययन प्रतिवेदन स्विकृत हुने चरणमा रहेको छ ।

पन्थडिहीबाट साइँलीटारसम्मको करीव २० किलोमिटर सडक कालोपत्रे हुने उनले जानकारी दिए । भारतीय विदेशमन्त्रीको पछिल्लो नेपाल भ्रमणका क्रममा पनि उक्त सडक स्तरोन्नतीका विषयमा कुराकानी भएको ढकालले जानकारी दिए ।

नेपाल सरकारले एक्जिम बैङ्कले उपलब्ध गराएको ३४ अर्ब मध्येकै करीव १ अर्ब रुपैया उक्त सडक स्तरोन्नतीमा लगाउने निर्णय गरिसकेको छ । ‘अब एक्जिमले १२ वटा योजनाको प्याकेजभित्र उक्त सडकलाई समावेश गर्ने निर्णय गरेपछि स्तरोन्नतीको काम अघि बढ्छ’ ढकालले भने, ‘उक्त सडक आसपास पर्ने घर, विद्यालय, धारा लगायत भौतिक संरचनाको मुआब्जा रकम आँकलन गर्नका लागि ११ किलो छेवेटार भालुस्वाँरा वारपाक सडक योजनाका प्रमुख रविन्द्रलाल दासलाई जिम्मा दिइएको छ ।’

सडक आसपास पर्ने भौतिक संरचना बाहेक आवश्यक जग्गा भने स्थानीय बासिन्दाले निशुल्क उपलब्ध गराउने सरकारको अपेक्षा छ । सार्वजनिक खरीद ऐनको नयाँ संशोधन अनुसार जग्गाको ब्यवस्थापन नभै ठेक्का प्रक्रिया अघि बढाउन नमिल्ने भएकाले पनि सडकको स्तरोन्नतीको काममा अलमल भैरहेको ढकालले जानकारी दिए ।

उक्त सडक साढे ७ मिटर फराकिलो बन्नेछ, त्यसमध्ये साढे ५ मिटर कालोपत्रे हुने उनको भनाई छ । पन्थडिहीबाट हर्मीसम्मको सडक स्तरोन्नतीको काम भने २०६९ सालबाटै शुरु भएको थियो । २०७० भदौमा ग्राभेल, रिटेनिङ वाल, नाली लगायतका संरचना बनाउने गरि महालक्ष्मी प्यासिफिक नाना जेभी नामको ठेकेदार समूहसँग सम्झौता भएको थियो । तर हालसम्म तोकिएको काम पूरा भएको छैन । एक्जिम बैङ्कको सहयोगमा उक्त सडक कालोपत्रे हुने भएपछि पुरानो ठेक्का रद्ध गर्ने प्रक्रिया अघि बढाइएको ११ किलो छ ेवेटार भालुस्वाँरा वारपाक सडक योजनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्