
मनास्लु हिमालमा सम्पर्क अधिकृतबिना खचाखच आरोहीहरु
देशका सबै हिमालहरुमध्य यसबर्ष सबैभन्दा धेरै आरोहीहरु रहेको मनास्लुमा संपर्क अधिकृत भने नरहेको स्थानीयबासीको गुनासो छ । २३ वटा ग्रुप र १९७ जना आरोहीहरु रहेको यहाँ अहिले संपर्क अधिकृत भने एकजना पनि नरहेको वडा सदस्य मिङ्मार लामाले जानकारी दिए ।
‘अध्यागमन विभागले प्रत्येक ग्रुपसंग एकजना लियोजन अफिसर(संपर्क अधिकृत) खटाएको हुन्छ’, चुमनुब्री गाउँपालिका १ का वडा सदस्य लामाले भने, ‘तर अहिले यहाँ एकजना पनि लियोजन अफिसर छैनन् । मनास्लु संरक्षण क्षेत्र आयोजना(एमक्याप)को कार्यालयमा २१ जनाको नाम मात्र दर्ता भएको छ ।’ ग्रुपसंग आएका कर्मचारीहरु एकदुई दिन बसेर फर्किने गरेको उनले गुनासो गरे ।
‘खास त उनीहरुले हिमाल चढ्न भनेर आएका आरोहीहरुले वातावरण प्रदुषण गरे नगरेको निरीक्षण गर्ने काम हो’, उनले भने, ‘तर सबै ग्रुपसंग लियोजन अफिसर पनि छैनन् । भएकाहरु पनि गाउँमै सेल्फी खिचेर फर्किने गरेका छन् । एकदुई जना बेसक्याम्पसम्म त पुगेका छन्, तर एकदुई दिनमै फर्किएका छन् । अहिले गाउँमा पनि कोही लियोजन अफिसर छैनन् ।’ रेखदेख गर्ने कर्मचारी नहुँदा मनास्लु बेसक्याम्प, अरु क्याम्पहरु प्रदुषित भएको उनले बताए ।

मनास्लु संरक्षण क्षेत्र आयोजना(एमक्याप) कार्यालयका अनुसार यसबर्ष २३ ग्रुपका १९७ जना आरोहीको नाम दर्ता भएको छ । उनीहरुसंग आएका २१ जना संपर्क अधिकृतको नाम पनि एमक्यापको अभिलेखमा छ ।
विदेशी आरोही र सरकार बीचको सम्बन्ध गराउन सम्पर्क अधिकृतको रुपमा खटिएकाहरु सम्पर्कमै नरहेको सामागाउँका बासिन्दाको भनाइ छ । सरकारले प्रत्येक आरोहीसंग दुई हजार डलरका दरले शुल्क पनि असुल गरेको हुन्छ । रकम असुल गरेपछि सम्पर्क अधिकृतहरु भने सम्पर्कमा नरहने गरेको उनीहरु गुनासो गर्छन् ।
८,१६३ मिटर अग्लो मनास्लु हिमाल चुमनुब्री गाउँपालिका वडा नं. १ सामागाउँमा पर्छ । अहिले आरोहीहरु सबै बेसक्याम्पमा रहेको वडा अध्यक्ष वीरबहादुर लामा बताउँछन् ।
तस्वीर : पुर्णिमा श्रेष्ठ, आरोही ।




