| शनिबार, कार्तिक २८, २०८३

नगरपालिकाद्वारा माछा पसल र पाउरोटी उद्योगमा ताला

गोरखा नगरपालिकाले नगरक्षेत्रका दुई वटा पसल बन्द गरिदिएको छ । गोरखा नगरपालिका वडा नं ६ अस्पतालमार्गको अंशु माछा पसल र वडा नम्वर ५ गैरीकुवाको बिशान्त बेकरी उद्योग बन्द गरेको नगरपालिकाका अधिकृत चेतप्रसाद अम्गाईले जानकारी दिए ।

विभिन्न समयमा अनुगमनका क्रममा बारम्बार ब्यवसाय सुधारका लागि आग्रह गर्दा पनि अटेर गरेपछि दुबै पसल शील गरेको उनले बताए । केहि समयअघि गरेको अनुगमनका क्रममा अंशु माछा पसलले बिल बिजक बिना कारोबार गर्ने गरेको, सडेगलेका माछा बिक्री गरेको पाइएको थियो । ‘तर अहिलेपनि अबस्थामा सुधार नभएको उपभोक्ताको गुनासो आएपछि पसल बन्द गरेका हौं’, अम्गाईले भने ।
यस्तै गोरखा नगरपालिका ५ गैरीकुवाको बिसान्त बेकरी उद्योगले उत्पादन गर्ने सामग्रीमा उपभोग्य मिति लगायतको जानकारी भएको लेबल नलगाई बिक्री गरेको पाइएकाले बन्द गरिएको अंगाईले बताए ।

‘दुबै पसलमा अत्यधिक फोहर भएकाले नगरपालिकाले सुधारका लागि पटक पटक अल्टिमेटम दिएको हो’, उनले भने, ‘शुक्रबार भएको अनुगमनमा पनि कुनै सुधार नभएको पाइएकाले बन्द गरेका हौं ।’ तोकिएको मापदण्ड पूरा गरेर नगरपालिकामा जानकारी गराएपछि फेरि अनुगमन गरेर मात्रै पसल सञ्चालन गर्न दिइने उनको भनाई छ ।

शुक्रबार सदरमुकाम आसपासका अरु १० भन्दा बढि पसलको अनुगमन गरिएको नगरपालिकाका अधिकृत अम्गाईले जानकारी दिए ।
चाडबाड नजिकिदै गर्दा खाद्यान्न पसलमा उपभोक्ताको चाप बढि हुने भएकाले किराना र मसला पसलहरुको अनुगमन गरिएको उनको भनाई छ ।

अनुगमनका क्रममा ब्यबसायीले उपभोक्ताले देख्नेगरी मुल्यसूची अद्याबधिक गरेर राखेको नभेटिएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्