
रुइला नाका खुलाउने पहल सुरु भएको छ : मन्त्री बस्नेत
गण्डकी प्रदेश सरकारले तिब्बतसँग सिमाना जोडिएको गोरखाको रुईला नाका खुल्ला गर्ने तयारी थालेको छ ।
प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री रामशरण बस्नेतले सामागाउँसँग जोडिएको रुइला नाका खुल्ला गर्न आबश्यक कुटनीतिक तयारी सुरु भएको जानकारी दिए ।
गोरखा सदरमुकाममा बुधबारबाट सुरु भएको दोस्रो दशैं सस्तो मेलालाई सम्बोधन गर्दै उनले मुख्यमन्त्रीसँगै रुइला नाकाको स्थलगत अध्ययन गरेर नाका खुल्ला गर्ने विषयमा द्विपक्षीय छलफल गर्ने जानकारी दिए । ‘गोरखाको संवृद्धि रुइला नाकाबाट नै सुरु हुन्छ’ उनले भने, ‘हामी नाका खोल्ने विषयमा छलफल अघि बढाउँदैछौं । त्यो नाका खुल्ला गरेपछि जिल्लामा पर्यटन प्रबद्र्धन मार्फत आर्थिक विकास हुन्छ ।’ जिल्लाको समग्र विकासका लागि सरोकारवाला सबैपक्षबिच एकताको खाँचो रहेको उनले बताए । ‘एकताबाट मात्र रुपान्तरण र परिवर्तन सम्भव छ’, उनले भने, ‘गोरखाका ब्यबसायी, राजनीतिक दल, समाजका सबै पक्ष एकबद्ध भएर यहाँको ऐतिहासिक मात्रै होईन, भौतिक पक्ष सुन्दर बनाएर विकास निर्माणमा हातेमालो गरौं ।’ जिल्लाको विकास निर्माणका लागि प्रदेश सरकारबाट यथेष्ट बजेट विनियोजन भएको उनको दाबी छ । ‘अबको दुई बर्षमा चुमनुब्री र धार्चेका उत्पादन सहज रुपमा बजार ल्याउने गरी सडक बन्छ’, उनले भने, ‘गोरखा बजारदेखि फिनामसम्मको अलपत्र सडक पिच गर्न पनि हामीले पहल गर्दैछौँ ।’ ग्राभेल सडकलाई क्रमश कालोपत्रे गर्ने गरी बजेट विनियोजन भएको उनले जानकारी दिए ।
बूढीगण्डकी जलविद्युत आयोजनाको बाँकी काम धेरै अघि बढिसकेको बताउँदै उनले केहि दिनभित्रै आयोजनाको महत्वपूर्ण निर्णय हुने बताए । ‘बाँकी क्षेत्रको जग्गाको मुआब्जा निर्धारण, घरगोठको मुआब्जा वितरण लगायतका रोकिएका कामको अब केहिदिनमा नै टुंगो लाग्छ ।’ उनले भने ।
कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका भूमि ब्यबस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा मगरले किसानलाई प्रोत्साहनका लागि ब्याजमा अनुदान दिने जानकारी दिए । ‘ब्यबसायिक किसानलाई ब्याजमा अनुदान दिने कार्यक्रम ल्याउने तयारीमा मन्त्रालय छ’, उनले भने ‘स्वरोजगारका लागि पुँजीको अभाव हुन दिदैनौ तपाईहरु उत्पादनमा जुट्नुहोस ।’ हरेक स्थानीय तहलाई कुल बजेटको १५ प्रतिशत रकम कृषि क्षेत्रमा लगानी गर्न उनले आग्रह गरे ।
कार्यक्रममा गण्डकी प्रदेशका सांसद हरीशरण आचार्यले पर्यटन प्रबद्र्धनका लागि गोरखा बजार क्षेत्रको एकीकृत विकास गर्नु जरुरी रहेको बताए । सत्तापक्षकै बिचमा विवाद रहेकाले बूढीगण्डकी जलविद्युत आयोजना अलपत्र परेको उनले दाबी गरे ।
कार्यक्रमका अन्य बक्ताहरुले खुल्ला प्रतिस्पर्धामा स्वच्छ रुपमा ब्यबसाय सञ्चालन गर्न जिल्लाका ब्यबसायीलाई आग्रह गरेका छन् । सस्तो बजारको बहानामा गुणस्तरहिन सामाग्री बिक्री भएमा कारबाही हुने भन्दै उनिहरुले ब्यबसायीलाई सचेत गराएका छन् ।
गोरखा चेम्बर अफ कमर्सका अध्यक्ष भाइचन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका जिल्ला÷नगर उपाध्यक्ष दिपक मलहोत्रा, जिल्ला समन्वय समितिकी उप प्रमुख जनुका अधिकारी, गोरखा नगरपालिकाकी उपप्रमुख बिनाकुमारी श्रेष्ठ, अजिरकोट गाउँपालिकाकी उपप्रमुख चन्द्रमाया गुरुङ, गोरखा नगरपालिका वडा नं २ का अध्यक्ष रहमतुल्ला मियाँ, नेकपाका जिल्ला सचिव प्रेम गुरुङ, समाजवादी पार्टीका जिल्ला अध्यक्ष नारायण खत्री, आदिबासी जनजाति जिल्ला समन्वय परिषदका अध्यक्ष विष्णु राना, गोरखा चेम्बर अफ कमर्सका उपाध्यक्ष कृष्ण ढकाल, महासचिव रामस्वरुप श्रेष्ठ लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।




