| शनिबार, कार्तिक २८, २०८३

भारत सरकारद्वारा गोरखाका २४ हजार जना भूकम्प पीडितका घर पुनर्निर्माण, १३०३ वटा घर निर्माणाधीन

भारत सरकारले भूकम्पले क्षतिग्रस्त गोरखाका २४ हजार घर पुनर्निर्माण गरेको छ । भदौ मसान्तसम्म २४ हजार १५ वटा घर पुनर्निर्माण सम्पन्न गरेको र एकहजार ३०६ वटा घर पुनर्निर्माण को क्रममा रहेको नेपाल आवास पुर्निर्माण परियोजना गोरखाकी सञ्चार अधिकृत तारा ढकालले जानकारी दिइन् ।

२६ हजार २१७ घरधुरीले पहिलो किस्ता लगेको, २४ हजार ९४१ घरधुरीले दोस्रो र २३ हजार २८२ जनाले तेस्रो किस्ता लगिसकेको उनले बताइन् ।

२०७२ सालको भूकम्पले ध्वस्त गोरखाका ७१ हजार घरधुरीमध्य भारत सरकारले २६ हजार ९१२ घरधुरी पुनर्निर्माणको जिम्मा लिएको थियो । नेपाल सरकारद्वारा आयोजित दाता सम्मेलनमा भारत सरकारले गोरखा र नुवाँकोटको ५० हजार घर पुनर्निर्माणका लागि सहयोग गर्ने घोषणा गरेको थियो । सोही घोषणाअनुसार युएनडिपीसंग समन्वय गरी स्थानीय सामाजिक संस्थाहरु पद्धति विकास सेवा केन्द्र र स्वाँरा सघन गाउँविकास केन्द्रसंग साझेदारी गरी भारत सरकारले नेपाल आवास पुनर्निर्माण परियोजना अघि बढाएको परियोजनाका गोरखा जिल्ला प्रमुख राम सापकोटाले बताए ।

परियोजनाले वैकल्पिक प्रविधी प्र्रवरदन अन्तरगत ८८ संकटासन्न घरधुरीलाई तारजालीको प्रयोग वाट ढुंगामाटोको घर निर्माण गर्ने कार्यक्रम रहेकोमा ५२ निर्माण सम्पन्न भएको छ भने बांकी निर्माणधीन छन्।

भूकम्पले भत्किएका घर पुनर्निर्माणका लागि परियोजनाले चार हजार दुईसय ९० जनालाई डकर्मी तालिम दिएर पुनर्निर्माणमा खटाएको छ । उनीहरुमध्य दुईसय ४० महिलालाई दक्ष डकर्मी बनाएको जनाएको छ ।

गोरखाका गोरखा नगरपालिका, पालुङटार नगरपालिका, धार्चे गाउँपालिका, गण्डकी गाउँपालिका, अजिरकोट गाउँपालिका, आरुघाट गाउँपालिका, सिरानचोक गाउँपालिका र शहिदलखन गाउँपालिकाका ४२ वटा वडाहरुमा भारत सरकारको सहयोगमा सन् २०१८ मार्च महिनाबाट नेपाल आवास परियोजना सञ्चालन भइरहेको सापकोटाले जानकारी दिए ।

‘हामीले सामाजिक सहजीकरण, प्रशासनिक सहजीकरण, प्राविधिक सहजीकरणको काम पनि गरिरहेका छौं’, उनले भने, ‘किस्ता निकासाका लागि टोल, वडा र पालिकास्तरमा भेला गर्ने, पुनर्निर्माणका लागि समुदाय परिचालन गर्ने, संकटासन्न घरधनीलाई सहयोगार्थ स्थानीय जनशक्ति र सामग्री परिचालन गर्ने, गुनासोको समाधान र त्यसको सुनिश्चितता गर्ने जस्ता काममा सहजीकरण गरेका छौं ।’ त्यस्तै समयमै घर निरिक्षणका लागि प्राविधिकसंग समन्वय गर्ने, निरीक्षण सकिएका घरधनीको फाराम भर्न सहयोग गर्ने तथा फाइल निश्चित स्थानमा पुगेको सुनिश्चितता गर्ने, जिल्ला स्तरीय आयोजना कार्यन्वयन निकायमा थप जनशक्ति राखी किस्ता निकाशा प्रक्रियालाई गति दिने, संकटासन्न घरधनीका लागि घुम्ति कोषको स्थापनाका लागि गाँउपालिकासंग समन्वय गर्ने, बैंक, जग्गा आदि सम्बन्धी समस्या समाधानकालागि सहजिकरण गर्ने काम पनि गरेको उनले बताए ।
भारत सरकारद्वारा सञ्चालित परियोजनाले घर निर्माणको योजना बनाउन, बजेट निर्धारण गर्न र सामाग्री छनोटका लागि प्राविधिक सहयोग दिने गरेको छ । घरको निःशुल्क नक्सा बनाउन र नक्सा पास प्रक्रियामा सहजिकरण गर्ने, घरधनी र डकर्मी बीच समन्वय गर्ने, घरधनीलाई आवास निर्माण साथी बनाउने, सब इन्जिनियर, र इन्जिनियर मार्फत स्थलगत सुझाव प्रदान गर्ने, समयमै घर निरीक्षणका लागि प्राविधिकसंग समन्वय गर्ने, घर निर्माणको बिभिन्न चरणमा स्थलमा गएर ईन्जिनियरले निरिक्षण तथा सहयोग गर्ने, घरधनी र डकर्मीलाई क्षमता अभिवृद्धिका लागि विभिन्न क्रियाकलाप सञ्चालन गर्ने काम पनि गरेको सञ्चार अधिकृत ढकालले बताइन् ।

भारत सरकारले गोरखामा १० वटा विद्यालय निर्माणको क्रममा छ भने ३८ वटा स्वास्थ्य चौकी, गुम्बा र तीन वटा सडक निर्माण गर्ने परियोजनाका गोरखा प्रमुख सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्