| शनिबार, कार्तिक २, २०७६

साउनेपानीका बासिन्दा दिनभर खेतबारीमा ब्यस्त, राती अर्काको घरमा बास

अजीरकोट गाउँपालिका १ साबिक घ्याच्चोक गाविसको वडा नं. ९ साउनेपानीका लक्ष्मण गुरुङ बिहान १० बजेतिर कोदो रोप्ने मेलापर्ममा हिड्छन् । दिनभरको समय खेतालाहरुसंग बित्छ । जब साँझ छ बज्छ, अनि रात कटाउने चिन्ताले सताउन थाल्छ । ‘बेलुका छ बजे मेलाबाट फर्केर आफ्नै घरमा खाना बनाएर खान्छन्, अनि बास खोज्नु पर्छ’, स्थानीय शिक्षक यमबहादुर गुरुङ भन्छन्, ‘पहिरोले गाउँ ताकेपछि तीनहप्ता भइसक्यो, गाउँलेको घरमा बास छैन ।’ भूकम्पले थर्काएको पहाड निरन्तरको बर्षापछि पहिरिन थालेको उनले बताए ।

लक्ष्मणजस्ता साउनेपानीका पाँच घरका बासिन्दाको तीनसातादेखि घरमा बास छैन । गत भदौ १२ गतेदेखि गाउँभन्दा मुनि पहिरो गएको र गाउँलेको बास उठेको उनले बताए ।

‘एकदिन होइन, दुई दिन होइन, सँधै घर छोडेर अरुको घरमा बास खोज्दै जानुपर्दा समस्या छ’, महादेवस्थान आधारभूत विद्या लयका प्रधानाध्यापक गुरुङले भने ‘गणेश गुरुङ, लक्ष्मण गुरुङ, आश माया गुरुङ, पूर्णबहादुर गुरुङ र हजराम गुरुङको परिबार पहिरोका कारण विस्थापित भएका छन् ।’

सो पहिरोका कारण चिसाङ, त्योटङ र साउनेपानीका बालबालिकालाई विद्यालय जान समस्या छ । यसैपनि ती गाउँका बालबालिकालाई विद्यालय पुग्न दुई घण्टा हिड्नु पथ्यो?’, गुरुङले भने, ‘यो पहिरोले फेरि एक घण्टा घुमाउरो बनाइदियो ।’

निरन्तरको बर्षाका कारण शहीदलखन गाउँपालिका ८ छापबारीका अम्मरबहादुर श्रेष्ठको धन्सार पहिरिएको छ । बुधबार बिहान ११ बजेतिर धन्सार पहिरिँदा ६५ बर्षका श्रेष्ठ पुरिएर घाइते भएका छन् । साथै पाँचवटा बाख्रा, एउटा भैंसी र एउटा पाडा समेत पुरिएर घाइते भएको वडा अध्यक्ष काशिनाथ अम्गाईले जानकारी दिए । श्रेष्ठको गोरखा सदरमुकामको एपोलो अस्पतालमा उपचार भइरहेको उनले बताए । उनको स्थानीयबासी, प्रहरी र वडा कार्यालयले उद्धार गरेका थिए ।

पहिरोले धार्चे गाउँपालिका ७ खानीगाउँका बासिन्दा पनि जोखिममा छन् । गतबर्षदेखि गएको पहिरोका कारण गाउँका १२ घर अत्यन्तै जोखिममा रहेको शिक्षक विशाल गुरुङले जानकारी दिए ।

‘गाउँका ४० घर जोखिममा हुन् । उनीहरुमध्य पनि १२ घर असाध्यै जोखिममा छन्’, उनले भने, ‘उनीहरुको घरमा बास छैन । घर पनि पहिरोले आज लान्छ, कि भोलि लान्छ जस्तो अबस्थामा छ ।’

गाउँका बालबालिकालाई पढ्न जान समेत समस्या छ । पहिरो कटेर जानुपर्नेमा पहिरो गहिरिदै जाँदा विद्यार्थीलाई विद्यालय जान नसक्ने अबस्था सिर्जना भएको उनले बताए ।

सो पहिरोले स्थानीय खानेपानी आयोजनाको ट्याङ्की र पाइपलाइन बगाइदिएको शिक्षक गुरुङले बताए । ‘अहिले झरीमा मूल पलाएको ठाउँको पानी उभाएर खाने गरिएको छ’, उनले भने, ‘गाउँलेले दुख पाएको बेलामा राहत तथा सहयोगका लागि गाउँपालिकाका जनप्रतिनिधि, जिल्ला नेता, कर्मचारी तथा संघसंस्था कोही पनि आएका छैनन् ।’

प्रतिक्रिया दिनुहोस्