
ऐतिहासिक क्षेत्रमा सुरेशमान, पुर्वमन्त्री वाग्ले सम्मानित
ऐतिहासिक क्षेत्र संरक्षण तथा विकास समितिको दशौं वार्षिक साधारणसभा तथा पाँचौं अधिबेसनले सुरेशमान श्रेष्ठ अध्यक्ष रहनेगरि नौ सदस्यीय समिति गठन गरेको छ । समितिको उपाध्यक्ष राजेन्द्र अर्याल, सचिव राजेन्द्र कुमार जोशी, कोषाध्यक्ष विशेश्वर श्रेष्ठ रहेका छन् ।
सदस्यमा रामकुमार श्रेष्ठ, शुभाकर मरहट्टा, अन्जित कुमार श्रेष्ठ, अर्जुन श्रेष्ठ, निलकण्ठ पौडेल र जनक अधिकारी चयन भएका छन् ।
समितिले सोही कार्यक्रममा पूर्वमन्त्री चिरञ्जिवी वाग्लेलाई सम्मान गरेको छ । वाग्लेको हालै प्रकाशित उपन्यास बलिदानले बनेको देशका लागि सम्मान गरिएको हो । पुस्तकले पृथ्वीनारायण शाहकालीन ऐति हासिक पक्षको उजागर गर्दै गोरखालाई चिनाउन मद्धत गरेकाले उनलाई सम्मान गरिएको ऐतिहासिक क्षेत्र संरक्षण तथा विकास समितिका अध्यक्ष विश्वदेव श्रेष्ठले जानकारी दिए । पुस्तकमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहले नेपाल एकिकरण गर्दाको कालखण्डलाई वर्णन गरिएको छ । औपचारिक शिक्षासमेत नलिएका पृथ्वीनारायणले अन्यको तुलनामा आर्थिक विपन्नता भएको तथा भौगोलिक रुपमा पनि सानो गोरखा राज्यलाई बढाएर पूरै नेपालको एकीकरण कसरी गर्न सके भन्ने विषयलाई पुस्तकमा उल्लेख गरिएको विश्लेषक एवम् वाल्मिकी विद्यापीठका प्राध्यापक डाक्टर नवराज कट्टेलले बताए । चार सय ८ पृष्ठको पुस्तकले यसअघि प्रकाशमा नआएका पृथ्वीनारायण शाहकालीन इतिहासका विभिन्न पक्षलाई उजागर गरेको उनको भनाई छ ।
गोरखाको बुंकोट मूलघर भएका वाग्लेले उपन्यास पृथ्वीनारायणकै नायकत्वमा लेखिएको भए पनि राष्ट्र एकीकरणमा सबै जात, धर्म, भाषा र क्षेत्रका जनताको उत्तिकै साथ रहेको देखाउन खोजिएको बताए । सोही कार्यक्रममा समाजसेवी भरतबाबु श्रेष्ठलाई पनि सम्मान गरिएको छ । ऐतिहासिक क्षेत्र संरक्षण तथा विकास समितिका सल्लाहकार रहेका श्रेष्ठलाई समाजसेवा र विशेष गरि गोरखाका ऐतिहासिक क्षेत्रको प्रवद्र्धनमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको समितिले जनाएको छ ।
विश्वदेव श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा नगरपालिकाका मेयर राजनराज पन्त, वडा नं ६ का अध्यक्ष नारायण प्रसाद अर्याल, डाक्टर राजुबाबु श्रेष्ठ,श्रवणकुमार जोशी, जिवनज्योती श्रेष्ठ, किरणबाबु श्रेष्ठ, वडा अध्यक्ष नारायणप्रसाद अर्याल लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
संस्थाले गोरखा संग्रहालयको नाम पृथ्वी संग्रहालय राख्न सम्बन्धित निकायमा पहल गर्ने, गोरखाको पुरानो बजारमा छापिएको ढुंगा मर्मत सुधारका लागि पहल गर्ने,तिनधारेबाट गोरखा दरबार जाने पैदलमार्गमा रेलिङ, विश्रामस्थल, सार्वजनिक धारा तथा शौचालय निर्माणका लागि सम्बन्धित निकायमा अनुरोध गर्ने, पथप्रदर्शकको ब्यबस्थाका लागि पहल गर्ने लगायतका भावी कार्यक्रम तय गरेको छ ।




