| शनिबार, कार्तिक २८, २०८३

गोरखामा पुलिस अफ द मन्थ घोषणा सुरु, भदौ महिनामा प्रहरी निरीक्षक रामचन्द्र घिमिरे उत्कृष्ट

जिल्ला प्रहरी कार्यालय गोरखाले उत्कृष्ट प्रहरी सम्मान सुरु गरेको छ । हरेक महिना ‘पुलिस अफ द मन्थ’का रुपमा एक/एक जना प्रहरीलाई सम्मान गर्ने कार्यक्रम अन्तरगत प्रहरी निरीक्षक रामचन्द्र घिमिरेलाई भदौ महिनाको उत्कृष्ट प्रहरीका रुपमा सम्मान गरिएको हो ।

जौवारी इलाका प्रहरी कार्यालयमा दरबन्दी भई हाल जिल्ला प्रहरी कार्यालयमा कार्यरत घिमिरेलाई यो महिनाको उत्कृष्ट प्रहरीका रुपमा सम्मान गरिएको हो । शुक्रबार पत्रकार सम्मेलन गरेर उनलाई नगद पुरस्कार सहित सम्मान गरिएको हो । समाजमा शान्ति सुुरक्षा कायम गर्नुका साथै सुचना संकलन तथा अपराध अनुसन्धान कार्यमा उत्कृष्ट योगदान दिएको भन्दै उनलाई सम्मान गरिएको हो ।

खासगरी श्यामहरि घिमिरे र पुजा परियारको हत्याको अनुसन्धानमा उत्कृष्ट काम गरेवापत प्रहरी निरीक्षक घिमिरेलाई सम्मान गरिएको एसपी ओम अधिकारीले बताए ।

जिल्लाभरका प्रहरीको कामका आधारमा डिएसपीको नेतृत्वमा रहेको समितिले सम्मानका लागि उत्कृष्ट प्रहरी छनौट गर्ने गर्दछ । प्रहरीको प्रोत्साहन र हौसलाका लागि सोही समितिको सिफारिसका आधारमा महिनैपिच्छे एक एक जना प्रहरीलाई पुरस्कृत गर्ने एसपी अधिकारीले जानकारी दिए ।

यस महिना उत्कृष्ट प्रहरी घोषित भएका प्रहरी निरीक्षकको तस्विर सम्मान स्वरुप कार्यालयको गेटमा राखिने भएको छ ।
यसअघि साउन महिनामा प्रहरी निरीक्षक हिमबहादुर खत्री पुलिस अफ द मन्थका रुपमा सम्मानित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्