| शनिबार, कार्तिक २८, २०८३

पहिरोका कारण खानीगाउँको जनजीवन अस्तब्यस्त

किरण लोहनी :

दुई वर्षदेखि पहिरोको उच्च जोखिममा रहेका गोरखाको धार्चे गाउँपालिका ७ खानीगाउँ आसपास फेरि पहिरो जान थालेको छ । पहिरोले बाटोघाटो, खानेपानीको पाइपलाइन लगायत संचरना बगाएपछि त्यहाँका बासिन्दाको जनजीवन अस्तब्यस्त भएको छ ।

पछिल्लो चारदिनदेखि बस्ती आसपास फेरि पहिरो जान थालेपछि त्यहाँका बासिन्दाको जनजीवन कष्टकर बनेको हो । पहिरोको जोखिमका कारण गत वर्ष बस्तीका ४० घर विस्थापित भैसकेका छन् । एक साता यताको लगातारको वर्षापछि बढेको दुङ्स्योङ खोला एक्कासी बढेपछि पहिरो बस्तीतिर सर्दै गएको हो । विस्थापितहरु अहिले बस्दै आएको गोरखनाथ आधारभूत विद्यालय नजिकैको जमिनमा पनि चिरा पर्न थालेको छ । बस्तीको सबैभन्दा माथिको जमिन पनि चिरिएपछि बाँकी घरधुरी पनि त्रासमा रहेका स्थानीय जिर्दा गुरुङले बताए । ‘चार पाँच दिनदेखि पानी परिरहेको छ, बुधवार त अहिलेसम्मकै ठूलो पानी प¥यो’ उनले टेलिफोनमा भने, ‘एउटा गाउँ र अर्को गाउँ जाने बाटो पहिरोले बगाईदिएको छ ।’

सो गाउँमा करीव एकसय १३ घरधुरीको बसोबास रहेको छ । पहिरोले वितरण प्रणालीमा क्षति पु¥याएपछि बस्तीमा खानेपानीको पनि अभाव हुन थालेको छ । गाउँबाट डेढघण्टा माथिको मूहानबाट ल्याइएको खानेपानीको पाइपलाइन पहिरोले बगाएपछि खानीगाउँभर पानीको अभाव भएको हो । जसका कारण उनीहरु गाउँबाट झण्डै एकघण्टा टाढाको लिओङ खोलाको पानी पिउन बाध्य छन् । ठाउँठाउँमा गएको पहिरोले बाटो बगाएपछि खानीगाउँका विद्यार्थीलाई विद्यालय आउजाउमा पनि समस्या भएको जिर्दा गुरुङले बताए ।

‘यहाँको गोरखनाथ आधारभुत विद्यालयमा ४ कक्षासम्म मात्रै पढाई हुन्छ, केटाकेटीहरु लापुको कालरात्री माविमा पढ्न जानुपर्छ, तर धेरैजना स्कुल जान पाएका छैनन्’ गुरुङले भने, ‘पहिरोको डर बढेपछि धेरैजसो त विद्यालय आसपासका आफन्तको घरमा बस्छन्, खानीगगााउँबाटै स्कुल जानुपर्नेहरु ४ दिनदेखि स्कुल जान पाएका छैनन् । पहिरोका कारण खर्कमा थुनिएका ८ जनालाई भने डोरीको सहायताले गाउँतर्फ तारिएको अर्का स्थानीय जीते गुरुङले बताए । ‘भदौमा मकै थन्क्याएपछि हामी बारीमा गोठ बनाउँछौं, गाउँ पारिको बारिमा १५/१६ वटा गोठ छन्, त्यहाँ गएका मान्छे गाउँ आउन सकेनन्’ उनले भने, ‘दुई तीन दिनको लागि मात्रै खर्च (खानेकुरा) लिएर गएकाहरु भोकभोकै बस्नु पर्ने अवस्था छ ।’ पहिरो क्रमशः बस्तीतिर सर्दै गएकाले अरु घरपरिवार पनि विस्थापित हुन सक्ने गुरुङले बताए ।

राष्टिूय पुननिर्माण प्राधिकरणका भूगर्भविद्हरुले खानीगाउँको पूरै बस्ती पहिरोको उच्च जोखिममा रहेको ठहर गर्दै स्थानान्तरण गर्नुपर्ने बताएको छ ।

स्थानीय बासिन्दाले पनि पुरानो गाउँमा फेरि बस्न नसकिने भएकाले सुरक्षित ठाउँमा सारिदिन माग गर्दै आएका छन् । खानीगाउँ र खानीबेशी बीचको कोलडाँडामा पहिरोको डर नभएकाले त्यहीँ स्थानान्तरण गर्नु राम्रो हुने स्थानीयको माग छ ।

बस्ती स्थानान्तरण सम्बन्धी प्रस्ताव भने पुननिर्माण प्राधिकरणको कार्यकारी समितिमै थन्किएको छ । ‘म सहित भूगर्भविद्हरु गएर अध्ययन गरेका हौं, त्यहाँ बस्ती बस्नै मिल्दैन, उच्च जोखिम छ’, प्राधिकरण कार्यकारी समिति सदस्य हरेराम पराजुलीले भने, ‘भूगर्भविद्हरुले रिपोर्ट बनाएर कार्यकारी समितिमा पेश पनि गरिसक्नु भएको छ, तर छलफलनै हुन सकेको छैन, समितिको बैठक नबसेकै दुई महिना जति भयो ।’

प्रतिक्रिया दिनुहोस्