| शुक्रबार, अशोज ३, २०७६

गोरखाका जनप्रतिनिधि र तिब्बती अधिकारीको बैठक : तिब्बतको अस्पतालमा गोरखाको चार वडाका बिरामीको उपचार हुने

 

शिव उप्रेती :

तिब्बतसंग सीमाना जोडिएका गोरखाको चुमनुब्री गाउँपालिकाको चार वटा वडा स्तरका जनप्रतिनिधि र चिनियाँ अधिकारीहरुको बैठक सम्पन्न भएको छ । हालै सम्पन्न द्विपक्षीय बैठकले सीमावर्ती चार वटा वडाका बिरामीलाई तिब्बती नागरिकलाई सरह उपचार सेवा दिने निर्णय भएको बैठकबाट फर्केका चुमनुब्री गाउँपालिका १ का वडा अध्यक्ष वीरबहादुर लामाले जानकारी दिए ।

‘यो बिषयमा हामीले धेरै पहिलेदेखि नै पहल गरिरहेका थियौं’, तिब्बतको कोङदाङ सहरमा सम्पन्न बैठकको निर्णय बारे जानकारी दिदै लामाले भने, ‘अहिले बल्ल सकारात्मक भयो । अब वडा नं. १, २, ४ र ५ का बिरामीहरुले वडा कार्यालयको सिफारिस लिएर गएका बिरामीलाई तिब्बतका नागरिकले जस्तो सुविधामा उपचार पाउँछन्, त्यस्तै सेवा हाम्रोतर्फको बिरामीले पनि पाउँछन् ।’

नेपालतर्फ स्तरीय स्वास्थ्य संस्था नहुँदा सो क्षेत्रका बिरामीहरु धामी, झाँक्रीको भर पर्न बाध्य थिए । ठूलो दुर्घटनामा परे वा सुत्केरी हुन नसकेर ज्यान जाने अबस्था भयो भने ऋण खोजेर हेलिकोप्टर चार्टर गरी काठमाडौंको अस्पतालमा जान बाध्य थिए ।

त्यस्तै बैठकले अर्को बर्ष नेपालतर्फ बैठक गरी बाह्रै महिना सीमा नाका खोल्ने निर्णय गरेको पनि उनले बताए । ‘केही त पुरानै निर्णयहरुलाई कडाइका साथ पालना गर्ने निर्णय भएका छन्, केही नयाँ निर्णय भएका छन्’, लामाले भने, ‘केहीचाहिँ नयाँ निर्णय भएका छन् । जस्तो : अर्को बर्षदेखि बाह्रै महिना सीमा नाका खुलाउने निर्णय भएको छ । तिब्बतर्फको रुईमा ट्रेडिङ हाउस बन्दैछ । त्यो एक महिनाभित्र सम्पन्न हुन्छ । अनि एक महिनाका लागि नाका खुलाउने निर्णय भएको छ ।’ सँधै नाका खुल्ला गर्नका लागि तयारी बैठक गोरखाको सामागाउँमा राख्ने, सोही बैठकमा उपभोग्य सामग्रीको मूल्य निर्धारण गर्न समिति बनाउने निर्णय भएको उनले बताए ।

पवित्र धार्मिक स्थल किमोलुङमा धार्मिक यात्रा गर्न चाहनेलाई वडा कार्यालयको सिफारिसको आधारमा यात्रा गर्न अनुमति दिने निर्णय पनि भएको छ ।

नेपालतर्फको सीमा क्षेत्र नजिक सुरक्षा चौकी नभएकाले समस्या भएको भन्दै त्यसका लागि पहल गरिदिन उनीहरुको तर्फबाट आग्रह भएको बैठकमा सहभागी अर्का मिङमार लामाले बताए । केही दिनपछि केरुङ वा जोङ्गामा ठूलो मेला लाग्ने भएकाले सीमा क्षेत्रमा कडाइ गर्न उनीहरुले आग्रह गरेको उनले बताए ।

बैठकमा वडा नं. १ बाट वडा अध्यक्ष वीरबहादुर लामा, सदस्य मिङमार लामा, वडा नं. २ बाट वडा सदस्यहरु पासाङ छिरिङ र पासाङ डोल्मा, वडा नं. ४ बाट वडा सदस्य रिजिन दोर्जे लामा र वडा नं. ५ बाट वडा अध्यक्ष सोनाम ग्याल्जेन गुरुङ र प्रहरी चौकी सामागाउँबाट हवल्दार लालबहादुर केशी र प्रहरी जवान दीपक घर्ती सहभागी थिए ।

तिब्बततर्फ सिडिओ सरहका कर्मचारी, प्रहरीको जिल्ला प्रमुख, सेना लगायतका कर्मचारी सहभागी भएका लामाले बताए ।

प्रतिक्रिया दिनुहोस्