
३३ बर्षपछि न्याय पाउँदा पूर्व प्रहरीलाई नेपालमा न्याय जीवितै रहेको महशुस
२०४४ साल माघदेखि बेकसुर सजायँ भोगिरहेका पूर्व प्रहरी हवल्दार खुलबहादुर कुँबर(भरत)ले हालै सर्वोच्च अदालतबाट न्याय पाएका छन् । नौ बर्षको जागिर खोसुवा र चरम शारीरिक र मानसिक यातना भोगेका गोरखा नगरपालिका ८ ठिँगुरेस्वाँराका कुँबरलाई एकसाताअघि अदालतले निर्दोश सावित गरी हालसम्मको सबै सेवा सुविधा भरण पोषण गर्न आदेश गरेपछि सत्यको जीत भएरै छाड्छ भन्ने महशुस भएको छ ।
‘नेपालमा न्याय निसाफ मरेको रहेनछ । अन्तिममा सत्यको जीत भएरै छाड्छ भन्ने मलाई लागेको छ’, उनी भन्छन्, ‘आफूले गल्ती गर्नु हुदैन, अहिले जति दुख पाएपनि एक न एक दिन न्याय निसाफ पाइन्छ ।’
महाराजगञ्ज प्रहरी तालिमकेन्द्र को कोतगार्डमा कार्यरत हवल्दार कुँबरलाई २०४४ साल माघमा अचानक दुईवटा रिभल्वर चोरीको आरोप लाग्यो । त्यसदिन पुराना स्टाफ चार जना र तालिमे दुई जनागरी छ जना ड्युटीमा थिए । ‘छ जना सेन्टूीको माझबाट कोतभित्र राखिएको दुईवटा ३८ भोरको अमेरिकी रिभल्वर हरायो । ड्युटी मेरो नेतृत्वमा थियो तर मलाई थाहा पत्तो थिएन’, उनले भने, ‘मैले मभन्दा ठूला इन्स्पेक्टर तुलबहादुर केशीलाई रिपोर्ट गरेँ । उहाँले वास्ता गर्नुभएन । म आफै हिरासतमा गएर बसेँ । त्यतिबेला वीरेन्द्र राजाको धनकुटा भ्रमण थियो । त्यस्तो बेलामा हतियार हराएकाले ममाथि अनुसन्धान हुनु स्वभाविकै थियो । तर त्यति यातना हुनु हुन्थेन ।’ हतियार हरायो भने मृत्यूदण्डसम्म हुन्छ भन्ने उनलाई सुनाइएको थियो ।
‘आठ महिनासम्म हिरासतमा राखेर यातना खाँदा २७ बर्षको उमेरमै आँखाको ज्योति गुम्यो । कान सुन्न छोडेँ । हत्कडीले हानेर दाँत झार्दिए’, कुँबरले भने, ‘नङमा पिन गोप्ने, करेण्ट लगाउने, थिलोथिलो हुने गरी कुट्ने, खुर्सानीको खार लगाउने, मृत्यूदण्ड दिने भनेर जंगलमा खाल्डो खनेर पुर्ने प्रयास गर्ने जस्ता कारबाही गरियो । सजायँ खाँदाखाँदा प्यारालाइसिस भयो कि के भयो कुन्नि हातखुट्टा पनि चल्न छोड्यो । तर मैले बयान फेर्दैफेरिन ।’ उनीसंगै सहकर्मी ओखलढुंगा घर भएका यज्ञबहादुर केशीमाथि पनि अनुसन्धान भइरहेको थियो । तर उनले बयान फेरेका थिए । ‘यातना नसकेपछि उसले मैले अह्राएर आफूले चोरेको हुँ भनेर बयान दिएछ । उसले झन मैले भन्दा चार भाग बढि यातना खायो’, उनले भने, ‘आफैले आकास भन्दा माथिसम्म, सागरभन्दा गहिरोसम्म यातना दिएर अनुसन्धान गरे तर अदालतमा पेश गरेनन् ।’ २०४४ सालको माघदेखि २०४५ सालको भदौसम्म हिरासतमा राखेपछि थुनामा राखेर अनुसन्धान सुरु भयो ।
‘हिरासतबाट केन्द्रीय कारागार जाँदा त नर्कबाट स्वर्ग गएको जस्तो हुनेरहेछ’, उनले भने, ‘थुनामा राख्दा त उपचार पनि हुने रहेछ । चारदिन टेकु अस्पतालमा राखेर उपचार भइरहेको थियो तर पदम ठकुरानीमाथि गोली चलाएको आरोप लागेका विकास गुरुङ थुनाबाट भागेपछि थुनुवाहरुको उपचार सेवा पनि बन्द भयो ।’
२०४९ सालमा युवराज दीपेन्द्रको जन्मोत्सवको अवसर पारेर उनलाई माफी दिइयो तर सरकारी जागिरमा अयोग्य ठहरिने गरी । त्यसपछि उनी अदालतको ढोका ढक्ढक्याउन थाले ।
‘माफी पाएपछि त मैले कि जागिर पाउनु प¥यो, कि उपदान, विदावापतको पैसा पाउनु प¥यो भनेर प्रहरी विशेष अदालत खोज्न थालेँ । पाइन । अञ्चलाधीश कार्यालयमा न्याय खोजेँ, पाइन, जिल्ला प्रशासन कार्यालयमा पनि पुगेँ, कतैपनि मेरो हारगुहार सुनेनन्’, उनले भने, ‘त्यसपछि मानव अधिकार आयोग, यातना पिडित सरोकार केन्द्र(सिबिन)तिर गएँ । त्यहाँबाट मलाई ठूलो सहयोग मिल्यो । पुनरावेदन अदालतमा रिट हालेँ, तर जिल्ला सदर भनेर मलाई हराइदियो । फेरि सर्वोच्च अदालतमा रिट हालेँ । पीडितले न्याय पाउने गरी फैसला गरिदिनू भनेर पठाए । फेरि पुनरावेदनले हराइदियो ।

फेरि सर्वोच्चमै रिट हालेँ । दोस्रो पटक सर्वोच्चमा रिट हालेको पाँचबर्षपछि यसपटक भने सर्वोच्चले उनलाई न्याय दिएको छ । आठ महिनासम्म हिरासतमा र चारबर्षसम्म थुनामा राखेर चरम यातना र अनुसन्धान भइरहेका उनलाई गत फागुनमा सर्वोच्चले निर्दोष सावित गरेको छ ।
‘चोरीको अभियोग लागेर थुनामा राखेदेखिको निज अवकास हुने मितिसम्मको निजले प्रहरी सेवामा रहँदा कानूनबमोजिम पाउने तलब भत्ता र निवृत्तिभरणसमेत प्रदान गर्दा न्यायपूर्ण हुने देखिएकाले उपर्युक्तअनुसार निजले पाउने तलब भत्ता र अन्य सुविधा प्रदान गरी निजले कानूनबमोजिम पाउने निवृत्तिभरण समेत यो आदेश प्राप्त भएको मितिले दुई महिनाभित्र निवेदकलाई उपलब्ध गराउनू भनी विपक्षीको नाममा परमादेश समेत जारी गरिएको छ’, सर्वोच्चको परमादेशमा भनिएको छ ।
गत भदौ आठ गते सर्वोच्चको परमादेशको प्रतिलिपि पाएपछि नेपालमा न्याय निसाफ जीवितै रहेको महशुस गरेको उनले बताएका छन् । साथै दुई महिनाभित्र प्रहरी सेवाको सेवा सुविधा पाउने विश्वासमा रहेको उनको भनाइ छ ।




