| शनिबार, कार्तिक २८, २०८३

गोरखाको हिमालपारि चुमनुब्रीमा पुग्यो सडक : भीरमा झुण्डिदै सडक बनाउँदै नेपाली सेना (फोटो फिचरसहित)

 

नेपाली सेनाले निर्माण गरिरहेको बेनिघाट आरुघाट लार्के सडकले हिमालपारिको गाउँपालिका चुमनुब्रीलाई सडकसञ्जालमा जोडेको छ । काम सुरु गरेको दुई बर्षको अवधिमा २६ किलोमिटर छिचोल्दै चुमनुब्री गाउँपालिका वडा नं. ३ सिर्दिबाससम्म पुगेको सडक निर्माण कार्यदलका प्रमुख इञ्जिनियर मेजर निशान्त क्षेत्रीले दरौंदी दैनिकलाई जानकारी दिए ।

तीन किलोमिटर निर्माण गरेपछि गाउँपालिकाको केन्द्र ‘फिलिम’को वारिसम्म सडक पुग्ने मेजर क्षेत्रीले बताए । गाउँपालिकाको केन्द्र भने सो मार्गमा पर्दैन ।


सेनाले २०७४ सालको बैशाख १४ गतेदेखि लापूको हावाडाँडाबाट सो सडक निर्माण कार्य सुरु गरेको थियो । सडक निर्माणकै क्रममा धार्चेको माछाखोलामा बेलीब्रिज निर्माणको काम अन्तिम चरणमा पुगेको छ । बेलिब्रिज बनेपछि तातोपानीसम्म गाडी चल्ने मेजर क्षेत्रीको भनाइ छ ।


यस्तै तिब्बतको सीमानामा रहेको लार्के भञ्ज्याङसम्मको सडक सर्भेको काम पनि सकिएको उनले जानकारी दिए । ‘सर्भे सकिएको खण्डको विस्तृत आयोजना प्रतिवेदन(डिपिआर) बनाउने काम भैरहेको छ’, उनले दरौंदी अनलाईनसँग भने, ‘सल्लेरीमा तेस्रो क्याम्प खडा गरी ट्रयाक निर्माणको कामलाई तीब्र रुपमा अघि बढाइएको छ ।’ यसअघि पहिलो क्याम्प अर्मलामा र दोस्रो क्याम्प माछाखोलामा खडा गरी काम भइरहेको थियो ।

चारदेखि आठ मिटर फराकिलो सडकको ठाउँठाउँमा थप सुधारको काम भने बाँकी रहेको क्षेत्रीले बताए । पृथ्वी राजमार्ग अन्तर्गत बेनीघाटबाट चीनको सीमासम्मको कुल एकसय ८० किलोमिटरको सो सडकको हावाडाँडादेखि लार्केभन्ज्याङसम्मको करीव एकसय २० किलोमिटर सडक निर्माण गर्ने जिम्मा नेपाली सेनाले लिएको छ । प्राविधिक सहित सेनाको ८५ जनाको टोलीले सडक निर्माणको काम गरिरहेको छ ।

काममा जटिल खालका अवरोध नआए अबको तीन वर्षसम्ममा चीनको सीमा नाकासम्म ट्रयाक खोल्न सकिने नेपाली सेनाले जनाएको छ ।


तस्वीरहरु : नेपाली सेना

(समाचार चोरेको फेला पारेमा प्रेस काउन्सिलमा उजुरी गरिनेछ ।)

प्रतिक्रिया दिनुहोस्