
समयमै उचित निर्णय नहुँदा भूकम्प पीडित समस्यामा
अनुपमा खनाल :
राष्टिूय पुनर्निर्माण प्राधिकरणले समयमा नै आबश्यक निर्णय नगर्दा जिल्लाको पुनर्निर्माणमा ढिलाई भएको सरोकारवालाले बताएका छन् । आबश्यक नीतिगत निर्णयमा ढिलाई हुँदा जिल्लाको निजी आवास पुनर्निर्माणका समस्या सुल्झाउन समय लागेको उनीहरुको भनाई छ ।
टूान्सपरेन्सी इन्टरनेशनल नेपालको आयोजनामा भएको छलफल कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान ब्यबस्थापन तथा स्थानीय पुर्वाधार) का प्रमुख रामशरण आचार्यले केन्द्रबाट प्रबलीकरणबाट पुनर्निर्माण तथा पुनर्निर्माणबाट प्रबलीकरणमा परिवर्तन गर्न चाहने लाभग्राहीको निर्णय समयमा नहुँदा समस्या परेको बताए । १४ सय ३ घरधुरी प्रबलीकरणबाट पुनर्निमार्णका लागि जिल्लाबाट सिफारीस गरिएकोमा प्राधिकरणबाट जम्मा ७१ घरमात्र स्वीकृत भएर आएको उनको भनाई छ ।
पुनर्निर्माणमा नपरेका लाभग्राहीहरु अझैपनि अन्यौलमा रहेको उनले बताए । यस्तै, २० घरधुरी पुनर्निर्माणबाट प्रबलिकरणका लागि जिल्लाबाट सिफारिस भएपनि प्राधिकरणले हालसम्म कुनै निर्णय नगर्दा उनीहरुको असन्तुष्टि रहेको आचार्यले जानकारी दिए । कार्यक्रममा जिल्लामा निजी आवास निर्माणतर्फ पुनर्निर्माण र प्रबलीकरण दुबै गरी ७१ हजार एक सय ६२ लाभग्राही रहेकोमा हालसम्म ५३ हजार एक सय २० लाभग्राहीले तेस्रो किस्ता लिएका जानकारी कार्यक्रममा दिईएको थियो ।
कार्यक्रममा जिल्ला आयोजना कार्यान्वय इकाई शिक्षाका प्रमुख विष्णु मिश्रले विद्यालय ब्यबस्थापन समिति मार्फत हुने कामको मोडालिटीबारे जानकारी अभाव, विद्यालय निर्माणमा दक्ष कालिगढ तथा गुणस्तरीय निर्माण समाग्रीको अभाव, भौगोलिक विकटताका कारण लागत इष्टमेटमा समस्या लगायतका चुनौती रहेको बताए ।
जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन)की प्रमुख सुनिता श्रेष्ठले प्रबलीकरणका लागि तालिमप्राप्त प्राविधिकको कमीले सहजिकरणमा समस्या रहेको जानकारी दिईन् ।
कार्यक्रममा सहभागीले सहुलियत पूर्ण कर्जा प्राप्त गर्न समस्या परेको, पुनर्निर्माण नगर्ने लाभग्राहीको नामकट्टा समयमा नभएको, जिल्लामा पुनर्निर्माणको काम पारदर्शी हुन नसकेको लगायतका गुनासो गरेका थिए ।
टूान्सपरेन्सी इन्टरनेशनल नेपालका खेमराज रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिकी उपप्रमुख जनुका अधिकारी लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।




