| शुक्रबार, अशोज ३, २०७६

गोरखामा सोमबारदेखि विद्युत सेवा बन्द, सुचारु हुन अझै केही दिन लाग्न सक्ने

गोरखा : गोरखा सदरमुकामको सवस्टेशनमा रहेको मुख्य पावर ट्रान्सर्फमरमा चट्याङले क्षति पुर्याएपछि गोरखामा सोमबारदेखि विद्युत आपूर्ति बन्द भएको छ । समस्या पहिचान नभएका कारण कहिलेसम्म विद्युत आपूर्ति बन्द रहने अनिश्चित रहेको विद्युत प्राधिरकरण गोरखा वितरण केन्द्रले जनाएको छ ।
सोमबार साँझ परेको चट्याङले गोरखा वितरण केन्द्रको ६÷८ एमभीए क्षमताको ट्रान्सर्फमरमा क्षति प¥याएपछि विद्युत आपूर्ति ठप्प भएको विद्युत प्राधिकरण गोरखा वितरण केन्द्रले जनाएको छ । विद्युत अवरुद्ध हुँदा केन्द्रीय प्रशारण लाइन जोडिएका गोरखा नगरपालिका, शहीद लखन गाउँपालिका, भीमसेन गाउँपालिका र बारपाक सुलीकोट गाउँपालिकामा विद्युत आपूर्ति बन्द भएको गोरखा वितरण केन्द्रका सूचना अधिकारी कृष्ण कँडेलले बताए । ‘जिल्ला सदरमुकामका कार्यालयहरु र करिब २० हजार घरधुरीका बासिन्दाले विद्युत सेवा उपभोग गर्न पाएका छैनन्’, उनले भने ।
सोमबारको चट्याङले कुन उपकरणमा क्षति पु¥याएको भन्ने बारे मंगलबार साँझसम्म पनि पत्ता नलागेको उनले बताए । ‘हामीले पोखराबाट आएका र जिल्लाका करिब २० जनाको टोलीले निरन्तर अध्ययन, परीक्षण गरिरहेका छौँ, तर अहिलेसम्म पनि समस्या पहिचान भएको छैन’, उनले भने, ‘ट्रान्सफर्मर जलेको भए नयाँ ट्रान्सफर्मर ल्याएर जडान गर्नुपर्ने भएकाले सेवा सुचारु हुन अझै केही दिन लाग्नसक्छ ।’
विद्युत आपूर्ति बन्द हुँदा गोरखा गोरखाबाट प्रकाशन हुने तीनवटा दैनिक पत्रिका प्रकाशन हुन सकेका छैनन् भने एमएम रेडियोहरुको प्रसारणसमेत बन्द भएको छ ।

“मोबाइल सेवा भने चलिरहने । चार्ज सञ्चित गर्न सुझाव”

टेलिफोन र मोबाइल सेवा भने सुचारु भइरहने नेपाल टेलिकमले जनाएको छ । जेनेरेटर चलाएर पनि सेवा सुचारु गर्ने टेलिकम प्रमुख चन्द्रबहादुर श्रेष्ठले जनाए ।
विद्युत सेवा बन्द हुँदा कम्प्युटरबाट काम हुने कार्यालयका सेवा अबरुद्ध भएका छन् । हाल गोरखामा मालपोतको काम पनि कम्प्युटरबाट हुने गरेको छ भने नागरिकता बनाउने लगायतका काम कम्प्यूटरबाट हुने गरेका छन् ।
पालुङ्टार नगरपालिका, सिरानचोक गाउँपालिका, अजीरकोट गाउँपालिका, गण्डकी गाउँपालिकामा भने अन्य जिल्लाका सबस्टेशनबाट वितरण भएकाले विद्युत सम्बन्धी समस्या नभएको प्राधिकरणले जनाएको छ । धार्चे गाउँपालिका र चुमनुब्री गाउँपालिकामा भने केन्द्रीय प्रशारण लाइनको विद्युत विस्तार गरिएको छैन ।

 

प्रतिक्रिया दिनुहोस्