| आइतवार, कार्तिक २९, २०८३

खेती गर्नलाई जग्गा भाडामा लिन शहीद लखनले अनुदान दिने

अनुपमा खनाल :

शहिद लखन गाउँपालिकाले जग्गा भाडामा लिएर ब्यबसायीक खेती गरेका किसानलाई अनुदान दिने भएको छ ।

गाउँपालिकाको आर्थिक बर्ष २०७६÷७७ को बार्षिक कार्यक्रम अनुसार जग्गा भाडामा अनुदान दिईने भएको हो । बाँझो जग्गाबाट उत्पादन लिन र किसानलाई प्रोत्साहनका लागि यो कार्यक्रम ल्याएको गाँउपालिकाका अध्यक्ष रमेश थापा मगरले बताए ।

‘जग्गा हुनेसँग काम गर्ने मान्छे छैन, काम गर्न सक्नेसँग जग्गा छैन’ उनले भने ‘यहि अबस्थामा यी दुबैलाई जुटाएर उत्पादन बढाउने सोचका साथ जग्गा भाडामा लिएर ब्यबसायिक रुपमा खेती गर्नेलाई भाडामा अनुदान दिने निर्णय गरेका हौं । यसले जग्गा धनीले पनि पैसा पायो, काम गर्नेलाई जग्गाको ब्यबस्थापनमा सजिलो भयो ।’

यो कार्यक्रमका लागि गाउँपालिका को कृषि शाखाले किसान, कृषक समुह तथा सहकारीसँग निवेदन आब्हान गरेको छ । किसानले जग्गा भाडामा लिएको सम्झौताको प्रतिलिपी, जग्गाधनी प्रमाणपत्रको प्रतिलिपी, स्थानीयको सर्जिमन मुचुल्का र वडा कार्यालयको सिफारीसका साथमा असोज ५ गतेसम्म निवेदन दिन सक्ने कृषि शाखा प्रमुख ऋषि रोकाले जानकारी दिए ।

जग्गा भाडामा अनुदान दिने कार्यक्रम गोरखामा नै पहिलो रहेको उनको दाबी छ ।

ब्यबसायिक रुपमा तरकारी, फलफुल लगायतका खेती गरेका किसान,कृषक समुह तथा सहकारीहरुले निवेदन दिन सक्ने कृषि प्राविधिक विजय पौडेलले बताए । ‘जग्गाको प्रकृति हेरेर प्रतिरोपनी बार्षिक ५ सय देखि १५ सय रुपैयाँ भाडाका लागि किसान, कृषक समुह तथा सहकारीलाई दिने निर्णय भएको छ’ उनले भने ।

गाउँ पालिकाले चालु आर्थिक बर्ष भाडाको जग्गालाई अनुदानका लागि दुई लाख रुपैयाँ विनियोजन गरेको छ । अनुदानका लागि न्युनतम ५ रोपनी जग्गा लिएर खेती गरेको हुनुपर्ने गाउँपालिकाले जनाएको छ । किसानलाई प्रोत्साहनकै लागि सोही जग्गामा लगाएको बाली पनि गाउँपालिकाले निशुल्क बिमा गरिदिने कृषि प्राविधिक पौडेलले जानकारी दिए । कार्यक्रमबारे किसानहरुको चासो रहेको उनको भनाई छ । ‘फोनमा धेरै समुह र सहकारीले सोध्नुभएको छ’ उनले भने ‘हामी सकेसम्म धेरै किसानलाई समेट्ने प्रयासमा छौं ।’ प्राप्त निवेदन संकलन गरेर स्थलगत अध्ययन गर्ने, जम्मा क्षेत्रफलमध्ये बाली ओगटेको क्षेत्रफललाई आधार मानेर जग्गाको प्रकृतिका आधारमा मुल्यांकन गरेर जग्गा भाडाको अनुदानका लागि गाउँपालिकाको कृषि विज्ञ समितिमा पेश गर्ने कृषि शाखाले जनाएको छ ।

शाखाले बुझाएको प्रतिवेदन समितिले पारित गरेपछि किसानले जग्गा भाडाको अनुदान रकम पाउने कार्यविधिको मस्यौदामा उल्लेख छ । कृषि शाखाले बनाएको यससम्बन्धी कार्यविधि आगामी कार्यपालिकाको बैठकले पास गर्ने गाउँपालिकाका अध्यक्ष थापा मगरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्