| आइतवार, कार्तिक २९, २०८३

हिमाली भेगमा भालुले मकै सखाप

भर्खर घोगा लागेको मकैबाली भालुले सखाप पारेपछि चुमनुब्री गाउँपालिकाका किसानहरु मर्कामा परेका छन् । चिसो हावापानीका कारण पर्याप्त बाली नहुने ठाउँको थोरै उत्पादन पनि भालुले खाइदिएपछि किसानहरु समस्यामा परेको चुमनुब्री ६ लोक्पाका सरोज लामाले बताए ।

भालुबाट बालीलाई जोगाउन दिनरात चौबीसै घण्टा मकैबारी रुँगेर बस्नु परेको उनले बताए । ‘गाउँले अहिले बारीको छेउमा सानो झाप्रो बनाएर दिनरातै मकै कुरेर बसेका छन्’, उनले भने, ‘घरका परिबार आलोपालो गरेर दिनरात कुर्छन् र तर राती निदाएको मौका पारेर भालुले मकै सखाप पार्दो रहेछ ।’

शान्ति क्षेत्र तथा मनास्लु संरक्षण क्षेत्र भएकाले भालुलाई ढुङ्गा हान्न, मार्न नपाइने उनले बताए ।
सो क्षेत्रमा संरक्षणको काम गरेको मनास्लु संरक्षण क्षेत्र आयोजनाले किसानहरुलाई राहत दिनु पर्ने उनले माग गरे । ‘हाम्रो गाउँ मनासलु संरक्षण क्षेत्र आयोजनाभित्र पर्छ त्यसैले वन्यजन्तु धेरै छन्’, उनले भने, ‘संरक्षित वन्यजन्तुले नष्ट गरेको बालीको क्षतिपूर्ति पनि सोही आयोजनाले तिर्नुपर्छ ।’

मकैखेती हुने चुमनुबी गाउँपालिका २ स्योदेखि तलका गाउँहरुमा यस्तै समस्या हुने गरेको वडा नं. ४ का अध्यक्ष पेमाडुण्डुप लामाले बताए । ‘हामीले त वडाको बजेटले बारीमा तारबार लगाएका छौं, त्यति गर्दा पनि भालु पसेर मकै खाइदिँदो रहेछ’, उनले भने, ‘मृगलेचाहिँ तारबार बिगार्न सक्दैन रहेछ । भालुलेचाहिँ तार हटाएर बारीमा पसेर मकै खाने रहेछ ।’

पिडित किसानलाई एमक्यापबाट क्षतिपूर्तिको ब्यबस्था हुनुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्