| शुक्रबार, अशोज ३, २०७६

अन्त्येष्टि स्थलको आधिकारिकता माग्दै प्रदेश सांसद गुरुङ

दरौंदीः नेपाली कांग्रेसका गण्डकी प्रदेशसभा सदस्य मनकुमारी गुरुङले बिभिन्न जातजातिको अन्त्येष्टि गर्ने ठाउँको लालपूर्जा सम्बन्धित समुदायलाई दिनुपर्ने माग गरेकी छन् ।

बिहिबार प्रदेश सभाको विशेष समयमा बोल्दै गुरुङले अन्त्येष्टिस्थलको लालपूर्जा स्थानीय समुदायलाई दिने ब्यबस्था गर्न गण्डकी प्रदेश सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

गुरुङले गण्डकी प्रदेशमा छरिएर रहेका आदिबासी, जनजाति, मुस्लिम र क्रिश्चियन समुदायको अन्तिम संस्कार गर्ने ठाउँहरुको राज्यले कानुन बनाएर व्यबस्थित गर्न नसकेकोमा चिन्ता व्यक्त गरिन् । प्रदेश सरकारले तत्काल कानुन निर्माण गरी मृत्युपछि अन्तिम संस्कार गरिने मुस्लिमको कबरस्तान, आदिबासी जनजातिको चिहानडाँडा र क्रिश्चियनहरुको अन्त्येष्टि स्थलहरुलाई आधिकारिकता प्रदान गर्नको लागि दर्ता गरी सम्बन्धित समुदायलाई लालपूर्जा प्रदान गराउन उनले सभामुख मार्फत गण्डकी प्रदेश सरकारको ध्यानाकर्षण गराइन् । मुलुक संघीयतामा गएको तीन बर्ष पूरा हुन लागिसक्दा पनि सबै भाषा, धर्म, लिंग, जाति, पिछडा बर्गको भावना, मर्म र चाहना अनुसार गण्डकी प्रदेश सरकार अगाडि बढ्न नसकेकोमा उनले दुःख व्यक्त गरिन् ।

संविधानमा उल्लेख भए बमोजिम जनताको सार्बभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात गर्दै गर्दा गण्डकी प्रदेशभित्रका आदिबासी, जनजाति, मुस्लिम, क्रिश्चियन समुदायहरुको अधिकारलाई प्रदेश सरकारले सम्बोधन गर्न नसकेको प्रदेशसभा सदस्य गुरुङको भनाई थियो ।

सभामा आफ्नो भनाई राख्दै समाजवादी पार्टी नेपालकी सांसद धनमाया तामाङले बुधबार राती गएको पहिरोले बारपाकमा पु¥याएको क्षतिका बारेमा जानकारी दिईन् ।
उनले पहिरो पीडितलाई उचित ठाउँमा बस्ने ब्यबस्था मिलाउनुका साथै राहतको ब्यबस्था गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराईन् ।

प्रतिक्रिया दिनुहोस्