| आइतवार, कार्तिक २९, २०८३

सोनाशक्ति चामलमाथि होइन, सहकारी पसलमाथि प्रहार हो : सहकारी

उपभोक्ता सहकारीले सञ्चालन गरेको सुपथ मूल्यको पसलमा ग्राहकको भिड लागेको डाहाले त्यहाँको चामललाई ‘प्लास्टिकको चामल’को आरोप लगाइएको जनमुखी उपभोक्ता सहकारी संस्थाले टिप्पणी गरेको छ । बुधबार गोरखा सदरमुकाममा पत्रकार सम्मेलन गरी सहकारी संस्थाका रामबाबु श्रेष्ठले ग्राहकलाई सहकारीको सामान बारे भ्रम छर्ने षड्यन्त्र स्वरुप ‘प्लास्टिकको चामल’को आरोप लगाइएको तर्क गरे ।

‘यो चामलप्रतिको आरोप थिएन, सहकारी पसलले सुपथ मूल्यमा सामान विक्री गरेर ग्राहक आकर्षण गरेको, सहकारी पसल लोकप्रिय भएकोप्रतिको प्रहार थियो’, श्रेष्ठले भने, ‘केही युवाहरु घरघरमा पसेर जनमुखीको चामल मात्र होइन, अरु सामान पनि फिर्ता गर्ने अभियान चलाएका थिए ।’ सरकारी अनुदानमा सञ्चालन भएका जिल्लाभरका ५३ सहकारी पसलमध्य जनमुखी बाहेक सबै बन्द भएकाले यसलाई पनि बन्द गराउने षड्यन्त्र भएको उनले बताए ।

केही समयअघि रिपुराज एग्रो प्रालिले उत्पादन गरेको सोनाशक्ति चामललाई ‘प्लास्टिकको चामल’ भनेर सामाजिक सञ्जालमा प्रचार प्रसार गरी प्रशासनको ध्यानाकर्षण समेत गरिएको थियो ।

जिल्ला प्रशासन कार्यालयले सो पसलको चामल अनुगमन गरी परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवामा पठाएको थियो । साथै रिपोर्ट नआउञ्जेल बिक्री बितरणमा रोक समेत लगाएको थियो ।

कार्यालयले गत मंगलबार पत्राचार गरी सो चामल नेपाल सरकारले तोकेको गुणस्तर अनुरुप पाइएकाले बिक्री बितरणमा रोक लगाइरहनु नपर्ने जनाएको थियो ।

सो पत्र पाएपछि रिपुराज एग्रो प्रालि रक्सौलका डाइरेक्टरसहितको टोली र सहकारीका सञ्चालक समितिको संयुक्त पहलमा बुधबार पत्रकार सम्मेलन गरी चामल गुणस्तरयुक्त भएकाले कुनै शंका नगरी उपभोग गर्न आग्रह गरिएको थियो । ‘प्लास्टिकको चामल भन्ने १० बर्षदेखि फैलिएको एउटा भ्रम मात्र हो’, डाइरेक्टर रिपुरमनले भने, ‘विश्वभर चामल निर्यात गर्ने दोस्रो ठूलो देश हो, भारत । पूर्वी भारतमा चामल उत्पादन गर्ने कम्पनीमध्य सवैभन्दा ठूलो हामी हौं । भन्छौं, प्लास्टिकको चामल विश्वमै छैन । यो भ्रम मात्र हो ।’ प्लास्टिकको चामल नपाक्ने, खान नमिल्ने हुने भएकाले प्लास्टिकको चामलको भ्रममा विश्वास नगर्न उनले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्