| आइतवार, कार्तिक २९, २०८३

सिञ्चाई कार्यालयमा ११ कर्मचारी मध्ये कार्यालयमा दुई जनामात्रै

कार्याल कर्मचारीबिहिन भएको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय गोरखाले जलस्रोत तथा सिञ्चाई डिभिजन कार्यालयमा छड्के अनुगमन गरेको छ । अनुगमनका क्रममा कार्यालय प्रमुखसहित नौ जना कर्मचारी अनुपस्थित पाइएको प्रशासन कार्यालयका खरिदार रविलाल सुवेदीले जानकारी दिए ।

११ जना कर्मचारी रहेको कार्यालयमा अनुगमनका क्रममा सबइन्जिनियर यमप्रसाद गुरुङ र कार्यालय सहयोगी देबबहादुर गुरुङ मात्रै भेटिएका उनको भनाई छ ।

कार्यालय प्रमुख पुरुषोत्तमप्रसाद उपाध्याय साउन २६ गतेदेखि कार्यालयमा अनुपस्थित रहेको पाइएको छ । हाजिरी किताबमा उल्लेख गरिएअनुसार उनी घरबिदामा छन् । यस्तै, इन्जिनियरहरु अर्जुनकुमार श्रेष्ठ, र सन्दीप डंगोल साउन २६ गतेदेखि र अर्का इन्जिनियर प्रल्हाद थापा क्षेत्री साउन २८ गतेदेखि घर बिदामा बसेका छन् । इन्जिनियर क्षेत्रीले घरबिदाका लागि निवेदन दिएपनि स्वीकृत नभएको पाइएको छ ।

कार्यालयका सब इन्जिनियर अशोक तिम्सिना र सचिन कायस्थ तथा सब ओभरसियर निशा धिताल भैपरी तथा पर्व बिदामा रहेको पाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । अनुगमनकै क्रममा दुई कार्यालय सहयोगी साउनदेखि कार्यरत भएपनि हाजिर नगराईएको पाईएको प्रशासन कार्यालयका खरिदार सुवेदीले बताए । अनुगमन पछि प्रशासन कार्यालयले एकैसमय कार्यालय खालि रहने गरी ठुलो संख्यामा कर्मचारीलाई काज स्विकृत गर्ने तथा अनुपस्थित रहनुको कारण तीनदिनभित्र पेश गर्न जलस्रोत तथा सिञ्चाई डिभिजन कार्यालयलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्