| आइतवार, कार्तिक २९, २०८३

हाइटेन्सन लाइन बारे पालुङ्टारबासी र डाक्टर भट्टराई बीच अन्तरक्रिया

पालुङ्टारका बासिन्दाले पूर्वप्रधानमन्त्री तथा जनप्रतिनिधि बाबुराम भट्टराईसंग पालुङ्टार बजारमाथिबाट प्रशारण गर्न लागिएको हाइटेन्सन लाइनबारे अन्तरक्रिया गरेका छन् । शुक्रबार साँझ गृहनगर पालुङ्टार पुगेका भट्टराईसंग स्थानीयबासीले बजारमाथिबाट हाइटेन्सन लाइन प्रशारण गर्नबाट रोक्न जोडदार माग गरेका थिए ।

माथिल्लो दोर्दी जलविद्युत आयोजनाले केन्द्रीय प्रशारण लाइनसंग जोड्न प्रस्तावित स्मार्ट सिटी पालुङ्टार बजार माथिबाट ट्रान्समिसन लाइन प्रशारण गर्न खोजेको भन्दै यसो हुन नदिन संघर्ष समितिका संयोजक श्रीकृष्ण पाण्डेले आग्रह गरेका थिए ।

कार्यक्रममा बोल्दै डाक्टर भट्टराईले आयोजनाले बास्तविक जनप्रतिनिधिसंग समन्वय नगरी कार्यक्रम बनाउँदा यस्तो हुन गएको धारणा राखे । ‘हामी यहाँको बास्तविक जनप्रतिनिधि हौं, तर आयोजनाले हामीसंग कुनै समन्वय नै नगरी यहाँबाट जो पराजित भएका छन्, उनीहरुको रायसल्लाह अनुसार कार्यक्रम अघि बढाउँदा बेठिक हुन गयो’, उनले भने, ‘यो समस्या समाधान गर्न हामीले यसअघि पनि सम्बन्धित निकायको ध्यानाकर्षण गरेका थियौं ।

फेरिपनि भदौको दुई वा तीन गते उर्जा मन्त्रालयको आयोजनामा, नागरिक उड्डय प्राधिकरण, सहरी विकास मन्त्रालय,प्रतिनिधिसभाका सांसद, राष्ट्रिय सभाका सांसद, प्रदेशसभाका सांसद र स्थानीय जनप्रतिनिधिको संयुक्त छलफल गरी समाधानको बाटो निकाल्ने छौं । त्यहाँबाट निस्केको निश्कर्ष बारे स्थानीयबासीसंग छलफल गरी टुंगोमा पुग्ने विश्वास दिलाउन चाहन्छु ।’ जनचाहना अनुसार नै समस्याको समाधानको बाटो खोज्ने उनले प्रतिवद्धता ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्