| आइतवार, कार्तिक २९, २०८३

गोरखा दरबार पुनर्निर्माण ठेकेदार र पुरातत्व बिभागका कारण ढिलाइ

 

चारसय बर्ष पुरानो इतिहास बोकेको गोरखा दरबारको पुनर्निर्माणको काममा ढिलाइ भएको छ । मंसीर ३० गतेभित्र निर्माण सम्पन्न गर्नुपर्ने दरबारको ठेकेदारले अहिलेसम्म जगमात्र पुर्ने काम भएको हो ।

२०७४ कात्तिक महिनामा ठेक्का सम्झौता गरेको निर्माण कम्पनी पचली भैरव शिवाको जेभीले अहिलेसम्म जग मात्र निर्माण गरेको छ । २२ महिनाको अवधिमा जम्मा जग पुर्ने काम मात्र सम्पन्न भएको गोरखा दरबार हेरचाह अड्डाले जनाएको छ । ‘दरबार निर्माणको आधिकारिक कुरा हामीले केही पनि बोल्न मिल्दैन, किनभने दरबार पुनर्निर्माण बारे हाम्रो कार्यालयलाई कुनै पनि चिठी पनि छैन, बोधार्थ पनि छैन’ अड्डाका निमित्त प्रमुख रामेश्वर कट्टेलले भने, ‘अहिलेसम्म जग मात्र तयार भएको त सबैले देखेको कुरा हो ।’ पाँचसात जनाले इटा धुने काम गरिरहेका तर गत सोमबारदेखि त्यो पनि रोकिएको उनले बताए ।

२२ महिनासम्म जग पुर्न मात्र लाग्नुमा पुरातत्व बिभागको पनि धेरथोर कमजोरी रहेको बिभागका कायममुकायम महानिर्देशक दामोदर गौतम बताउँछन् । ‘ढिला भएको पक्कै हो’, उनी भन्छन्, ‘त्यसमा ठेकेदारको गल्ती त छँदैछ, तर ठेकेदारको मात्र नभै हाम्रो कमजोरी पनि छ ।’ ठेक्का सम्झौता भइसकेपछि जगको अध्ययन गर्न आठ महिना खर्च भएको उनले बताए । ‘पहिले जगको राम्ररी अध्ययन नै नगरी डिजाइन इस्टमेट भयो । त्यही अनुसार ठेक्का सम्झौता भयो, तर जब जग खनियो, तब ठूलाठूला खाल्डा भेटियो’, उनले भने, ‘त्यसपछि बल्ला जगको भौगर्भिक अध्ययन गरेर डिजाइन इस्टमेट परिवर्तन गरेर काम सुरु गर्दा आठ महिना बित्यो ।’

आठ महिनापछि पनि ठेकेदारले सरासर काम नगरेको उनले बताए । सम्झौतामिति कटेपछि म्याद थपको प्रक्रिया अघि बढाउने उनले बताए । ‘हाम्रो कारण ढिला भएकोजति चाहिँ हामी म्याद थप गर्नेछौं, सो समयमा पुनर्निर्माण सम्पन्न गर्ने ठेकेदारको दायित्व हो’, कामु महानिर्देशक गौतमले भने । परिवर्तन गरेको इस्टमेटअनुसार गोरखा दरबारको जगमा सिमेण्ट प्रयोग गरिएको छ । परम्परागत प्रविधिअनुसार निर्माण गर्न नसके उचित कारण देखाएर आधुनिक प्रविधिमा निर्माण गर्न पाउने ब्यबस्था अनुसार सिमेण्ट प्रयोग गरिएको गौतमले बताए ।

पचली भैरव शिवाको जेभीले चार करोड ३२ लाख २९ हजार रुपैयाँमा दरबार निर्माण गर्ने ठेक्का सम्झौता गरेका थिए ।

इतिहासअनुसार गोरखा दरबार तत्कालीन राजा रामशाहले निर्माण गरेका हुन् । निर्माण भएको मिति थाहा नभए पनि राजा राम शाहले राज्य काल बिक्रम सम्बत १६७१ देखि १६९३ सम्ममा गोरखा दरबार निर्माण गरेको मानिन्छ ।
चारसय बर्ष लामो इतिहास बोकेको सो दरबार २०७२ सालको भूकम्पमा भत्केको थियो ।

प्रतिक्रिया दिनुहोस्