
गोरखा सदरमुकाममा फुटपाथ ब्यबस्थित बनाउन अध्ययन सुरु, अटेरी गर्नेको संरचनामा डोजर लगाउने चेतावनी
अनुपमा खनाल
गोरखा नगरपालिकाको वडा नं ८ को प्रतिक्षालयदेखि खोलखोलेसम्म ३० घरले फुटपाथ अतिक्रमण गरेको पाइएको छ । फुटपाथ ब्यबस्थापनका लागि गोरखा नगरपालिकाले गरेको अनुगमनका क्रममा ३० घरले फुटपाथ अतिक्रमण गरी सवारी पार्किङ गरेको, आँगन तथा ब्यबसाय सञ्चालनका क्रममा प्रयोग गरेको पाईएको हो ।
पिच सडकको दुबैतर्फ ३.५ मिटर क्षेत्र फुटपाथका रुपमा छाडिनु पर्नेमा त्यसो नभएको पाइएको नगरपालिकाका इन्जिनियर प्रकाश ढकालले जानकारी दिए । ‘धेरैजसो घरको आँगन नै फुटपाथमा छ’, उनले भने ‘मोटरसाईकल सर्भिसिङ र गाडीका ग्यारेजले पनि फुटपाथ ओगटेर बसेका छन् । ब्यबसायीले बेच्ने सामान फुटपाथमै स्टोर गरी राखेको पनि पाइयो । निर्माण सामाग्रीहरु पनि फुटपाथमै राखेको भेटियो ।’ ब्यबसायीहरुले फुटपाथ अतिक्रमण गरेर पसलको बोर्ड राखेको पनि पाइएको छ ।
अनुगमनको क्रममा अतिक्रमण गरिएको फुटपाथको जग्गा तुरुन्त खालि गर्न सम्बन्धित घरधनीलाई निर्देशन दिइएको उनको भनाइ छ । सो सडक खण्डमा बनेका अस्थायी संरचना हटाउन भनिएको छ ।
नगरपालिकाले पटक पटक फुट पाथ अतिक्रमण हटाउन निर्देशन दिएपनि उनीहरुले अटेरी गर्दै आएका छन् । गत साउन १५ गते पनि नगरपालिकाको टोलीले अनुगमनका क्रममा उनीहरुलाई फुटपाथ खालि गर्न भनेका थिए । तर १० प्रतिशतले मात्रै खालि गरेको पाइएको नगरपालिकाका अधिकृत चेतप्रसाद अम्गाईले जानकारी दिए । ‘हामीले १५ गतेपनि यहि ठाउँमा अनुगमन गरेर तुरुन्तै फुटपाथको ठाउँ खाली गर्नुस् भनेका थियौं’, उनले भने ‘अहिले हेर्दा पनि ९० प्रतिशत उस्तै अबस्था छ । केहिले भने खालि गर्नुभएछ ।’ बसपार्कदेखि शहिदगेट सम्म यसअघि नै फुटपाथ निर्माण भएकाले अबको क्रममा शहिद गेट देखि खोलखोलेसम्म दायाँबायाँ दुबैतर्फ पिच सडक छेउदेखि ३.५ मिटर फुटपाथ खालि गर्ने योजना रहेको उनले बताए ।
फुटपाथ ब्यबस्थापन गर्न नसक्दा बजार क्षेत्र कुरुप हुनुका साथै पैदल यात्रुलाई हिड्ने ठाउँ नहुँदा दुर्घटनाको जोखिम रहेकाले फुटपाथ ब्यबस्थापनका लागि नगरपालिकाले प्रक्रिया सुरु गरेको उनले जानकारी दिए । बिना अनुमति घडेरी खारेर नाला बन्द गराउने, बजार प्रदुषण गराउने र सडक भत्काउनेलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने देखिएको अधिकृत अम्गाईले बताए । फुटपाथ अतिक्रमण गर्ने घरधनीलाई गोरखा नगरपालिकाले साउन २८ गते छलफलका लागि कार्यालयमा बोलाएको छ ।
सरोकारवाला सबैसँग बृहत छलफल गरी फुटपाथ ब्यबस्थापन का लागि निश्चित समय तोकेर काम गर्ने नगरपालिकाले तयारी गरेको हो । सोही छलफलबाट नै फुटपाथ अतिक्रमण हटाउन समयसीमा निर्धारण गर्ने र अटेरी गरेमा डोजर लगाएर नगरपालिकाले फुटपाथ खालि गराउने अधिकृत अम्गाईले जानकारी दिए । अनुगमनमा गोरखा नगरपालिका वडा नं ८ का अध्यक्ष कृष्ण केसी, उद्योग वाणिज्य संघका अध्यक्ष जीवनज्योती श्रेष्ठ, नगरपालिकाका अधिकृत अम्गाई, इन्जिनियर ढकाल, पत्रकार लगायतको सहभागिता थियो ।




